१६ फागुन, २०८१ शुक्रबार

07:02:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा भारी गिरावटदेखि भारतको नोयडामा रहेको ट्विन टावर १२ सेकेण्डमै ध्वस्तसम्म

Nepal Business

१२ भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा भारी गिरावटदेखि भारतको नोयडामा रहेको ट्विन टावर १२ सेकेण्डमै ध्वस्तसम्म

१) सेयर बजारमा ३३.३६ अंकको गिरावट

साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको  छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ३३.३६ अंकले घटेर १९ सय ८९.२६ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घटे पनि आज कारोबारमा सुधार देखिएको छ । आज २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँको कारोबार भएको छ भने ६१ लख ४८ हजार ३४१ कित्ता सेयर किनबेच भएका छन् ।

यस्तै म्युचल फण्ड बाहेक १२ उपसूचक राताम्मे छन् । कम्पनीहरुमा राधी विद्युत कम्पनी ५.९० प्रतिशत, एनएमबी हाईब्रीड ३.८८ प्रतिशत, एनआइबीएल प्रगति फण्ड ३.२३ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ २.८६ प्रतिशतले बढेका छन् ।

२) एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट दुई करोड ५० लाख डलर भित्र्याउने

एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।  योसँगै एनएमबि बैंक बिआईआईबाट साढे दुई अर्ब रुपैयाँ बराबरको दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।

यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको बिकासमा समेत टेवा पुग्ने उल्लेख गरेको छ।

सम्झौतामा हस्ताक्षर गर्न आयोजित समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु सेवा प्रदान गर्दै आएको छ ।

३) बीमा अभिकर्ताको लाइसेन्सका लागि परीक्षा पास गर्नुपर्ने 

बीमा समितिले लिएको परीक्षा पास भएपछि मात्रै बीमा अभिकर्ताले लाइसेन्स पाउने भएका छन् । लाइसेन्सका लागि अभिकर्ताको परीक्षा अनलाइनमाध्यमबाट लिने तयारी भएको समितिले जानकारी दिएको हो ।

परीषाका लागि समितिले निश्चित समयको तालिम निकाल्छ । परीषाको समय १ घण्टाको हुने गरी तयारी गरिएको पनि समितिले जनाएको छ । परीक्षामा सामेल भएकाहरूमध्ये उत्तीर्ण हुने परीक्षार्थीलाई लाइसेन्स दिइने  समितिको भनाइ छ । 

४) बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव सुधारोन्मुख हुँदै

लामो समयदेखि देखिएको तरलता अभावमा केहि सुधार हुँदै गएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलतामा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्म बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।

भदौ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। भदौ ८ गतेसम्म कुल निक्षेप ५० खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा निक्षेप २ अर्ब रुपैयाँले बढेको छ।

भदौ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४७ खर्ब ५ अर्ब पुगेको छ। गत भदौ ८ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ।

५) ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने मेयर बालेनको प्रस्ताव 

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गर्नुभएको छ । आइतबारको नगर कार्यपालिका बैठकमा उहाँले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गर्नुभएको हो । 

उहाँले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताउनुभयो । महानगरको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि उहाँले गर्नुभयो।

६) चालु आर्थिक वर्षमा भारतबाट आयात हुनेभन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने घिसिङको भनाइ 

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा मन्त्रालयमा आोजित पत्रकार सम्मेलनमा बोल्दै चालु आर्थिक वर्षमा भारतबाट आयात हुनेभन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताउनुभएको हो । 

उहाँले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात हुने र त्यसपछि आगामी जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँसम्ममा बिजुली बिक्री भइरहेको र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको छ । 

७) तमोर जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको खरिदबिक्री दर निर्धारण गर्न सार्वजनिक सुनुवाइ हुने

माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको खरिदबिक्री दर निर्धारण गर्न सार्वजनिक सुनुवाइ हुने भएको छ । विद्युत नियमन आयोगले आउँदो भदौ ३० गते सार्वजनिक सुनुवाइ गर्न लागे हो ।

कार्यक्रम काठमाण्डौको गौचरणस्थित विद्युत विकास विभागको सभाहल दिउँसो २ बजेबाट ५ बजेसम्म हुनेछ । प्रत्येक वक्ताले बढीमा ५ मिनेटभित्र आफ्नो रायसुझाव प्रस्तुत गर्न पाउनेछन्।

नेपाल विद्युत प्राधिकरणले तमोर सानिमा इनर्जी प्रालिद्वारा प्रवर्द्धिधत माथिल्ला तमोर जलविद्युत आयोजना (२५५.२८१) मेगावाटबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारत तथा विद्युत खरिद सम्झौतामा सहमतिका लागि पेस भएको निवेदनमा छलफल गर्न आयोगले सार्वजनिक सुनुवाइ बोलाएको हो । 

८) अवैध संरचना हटाउने महानगरको अभियानमै छुः सुनीता डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिनुभएको छ।

पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृतविपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको उहाँको भनाइ छ ।

आइतबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उहाँले सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान नै भएको बताउनुभएको हो ।

९) जुम्लामा करिब ५० करोडको स्याउ उत्पादन

जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् । धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । गएका वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ।

यस वर्ष ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गरिएको छ । ‘त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी रु ५५ का दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब रु ५० करोड आम्दानी भएको छ ।

स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको छ ।  त्यस्तै जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ । खास स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्याङ्क आउन भने केही समय लाग्ने देखिन्छ ।

१०) भारतको नोयडामा रहेको ट्विन टावर १२ सेकेण्डमै ध्वस्त 

भारतको नोयडास्थित ट्विन टावर भत्काइएको छ । अवैधरुपमा संरचना खडा गरिएको भन्दै ३२ तले दुई भवन भत्काइएको हो । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा पहिलो पटक यति ठूलो संरचना मापदण्ड विपरित रहेको भन्दै भत्काइएको हो । 

१०३ मिटर अग्लो उक्त ट्वीन अपार्टमेन्ट आइतबार १२ सेकेन्डको छोटो समयमा नै ध्वस्त पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय इतिहासमा यति ठूलो संरचना भत्काउन लागिएको यो नै पहिलोपटक भएको स्थानीय अधिकारीहरुले सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। 

भारतको सर्वोच्च अदालतले गत वर्ष नै भवन निर्माण मापदण्डविपरीत दुईवटा टावर निर्माण गरिएको भन्दै बिल्डरहरुलाई भत्काउन आदेश दिएको थियो ।  ३७ सय केजीभन्दा धेरै विस्फोटक पदार्थ प्रयोग गरी भवन भत्काइएको छ । एपेक्स र सियान नाम गरेका दुईवटा टावरहरु राजधानी नयाँ दिल्ली र उत्तर प्रदेश जोड्ने राजमार्ग छेउमा बनेको थियो । 

भत्काउनु अघि दुईवटै टावरलाई प्लास्टिक सिट्सले छोपिएको थियो। भवनमा रहेका र त्यस संरचना छेउछाउ रहेका सर्वसाधारणलाई आइतबार बिहानै हटाइएको थियो ।