१७ फागुन, २०८१ शनिबार

12:46:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः नेप्सेको ओरालो यात्रा कायमैदेखि रिजर्व बैंकद्वारा थोडुपुजा अर्बनको–अपरेटिभ बैंकलाई कडा कारबाहीसम्म

१० भदौ, २०७९

प्रमुख समाचारः नेप्सेको ओरालो यात्रा कायमैदेखि रिजर्व बैंकद्वारा थोडुपुजा अर्बनको–अपरेटिभ बैंकलाई कडा कारबाहीसम्म

१) नेप्सेको ओरालो यात्रा कायमै

साताको अन्तिम कारोबारको दिन आज (शुक्रबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज (शुक्रबार) नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा बन्द भएको छ ।

यस दिन कूल २१३ वटा कम्पनीको ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८ सय २० रूपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार कारोबार भएका कूल १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स बाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ । शुक्रबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख ६१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ५.९५ प्रतिशतले बढेर १हजार ४ सय ४५ रूपैयाँ पुगेको छ । भने हाइड्रो इलेक्ट्रीसिटी  इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयरको मूल्य यस दिन  सबैभन्दा धेरै घटेको छ ।

२) काठमाण्डौं उपत्यकामा दसैँलाई करिब तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने

अब दसैँ नजिकिदै छ । दसैँको धार्मिक, साँस्कृतिक महत्व बेग्लै छ । दसैँमा नयाँ लुगा लाउने, टिका–जमरा लगाउने, मासु खाने लगायत गरिन्छ । मासुका लागि विशेषगरी दसैँमा खसी खाटिन्छन् । जसले गर्दा दसैँमा खसीबोका तथा मासुको माग धेरै हुन्छ । मासु लगायत चौपायाको माग धान्न सरकारी निकाय आफै खटिन्छन् ।

दसैँको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाण्डौं उपत्यकामा दसैँलाई करिब तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले खसीबोका र च्याङ्ग्रा खरिदका लागि अनुमानित ६ करोड रुपैयाँ बजेट छुट्याइएको बताउनुभयो । उहाँका अनुसार आवश्यकता अनुसार बजेट घटबढ हुनसक्छ ।

कम्पनीले लाहान, वीरगञ्ज, मुस्ताङ, दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । यसका साथै उपलब्धताका आधारमा कुन ठाउँबाट कति किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।

यस्तै कम्पनीले नजिकिँदै गरेको दसैँ, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल यहि भदौ महिनादेखि नै सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सहुलियत पसलमा गेडागुडी, दाल, चामल, आटा, गहुँ, तेल, घिउ, चिनी, नुन, चिउरा, पिठो, माछा मासु आदि पर्याप्त मात्रामा उपलब्ध हुनेछन् ।

३) लघुबीमा कम्पनी स्थापना गर्न बीमा समितिको आह्वान

बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । समितिले शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै नेपाल सरकारको आ.व. २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनी स्थापना गर्ने उल्लेख भएको स्मरण गराइएको छ ।

यस्ता कम्पनी स्थापना गर्न इच्छुक व्यक्ति तथा लगानीकर्ताहरुका लागि विभिन्न सर्तहरु राखी समितिले सूचना प्रकाशित गरेको हो । ती व्यक्ति तथा संस्थाहरुलाई प्रस्ताव पेश गर्न समितिले ३५ दिनको अवधि दिएको छ ।

४) भदौ १५ गतेदेखि एकिकृत कारोबार गर्दै र्मिमिरे र बुद्धज्योती लघुवित्त

र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योजी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भदौ ६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको गत असार ३१ गते सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

त्यस्तै भदौ ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति पाएपछि भदौ १५ गतेबाट एकिकृत कारोबार हुन लागेको हो। प्राप्ति पश्चात् संस्थाको रजिष्ट्रार कार्यालय बाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला स्थित बनेपा नगरपालिका वडा नं ८ मा रहनेछ ।

५) चालु आर्थिक वर्षको साउन महिनामा नेपालमा ७६ करोड बढीको ल्यापटप र नोटबुक

चालु आर्थिक वर्षको एक महिनामा नेपालमा विभिन्न देशबाट ७६ करोड रुपैयाँबढीको ल्यापटप र नोटबुक आयात भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो साउन महिनामा नेपालमा ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँको ल्यापटप र नोटबुक भित्रिएको भन्सार विभागले जनाएको छ ।

भित्रिएको भन्सार विभागका अनुसार सो मूल्यमा नेपालमा १२ हजार ६४५ थान ल्यापटप र नोटबुक आयात भएको छ । नेपालमा सबैभन्दा बढी मूल्यको ल्यापटप र नोटबुक चीनबाट आउने गरेको छ । गत महिना मात्र चीनबाट नेपालले ७४ करोड ४९ लाख ७६ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको छ ।

चीन बाहेक नेपालमा अष्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, कुवेत, लिथुवानिया, मलेसिया, नर्वे, पोल्याण्ड, सिंगापुर, युएई, बेलायत, अमेरिका र नामिबियाबाट ल्यापटप र नोटबुक आउने गरेको छ । गत आर्थिक वर्ष २०७८।७९ को साउन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब ४७ करोड ४ लाख २८ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको थियो ।

६) अब सशस्त्र प्रहरी बलले विद्युतीय चुलो प्रयोग गर्ने

सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । शुक्रबारको सम्झौता अनुसार सशस्त्र प्रहरी बल ब्यारेकहरुमा सञ्चालित मेसहरुमा एलपी ग्याँस हटाएर विद्युतीय चुलो प्रयोग गरिने भएको हो ।

यसका लागि सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सशस्त्र प्रहरीका ब्यारेकहरुमा सञ्चालित मेसहरुमा भइरहेको एलपी ग्याँसको प्रयोगलाई विस्थापित गर्न क्रमिक रुपमा इन्डक्सन चुलो प्रयोग गरिने छ । प्राधिकरणले इन्डक्सन चुलो प्रयोगका लागि विद्युत पोलहरु थप गर्ने, ठूला क्षमताका ट्रान्सफर्मर राख्नेलगायतका आवश्यक भौतिक पूर्वाधारहरु बनाइदिने छ ।

७) स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने बागमती प्रदेशको घोषणा

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वर्ण विजेतालाई मासिक ६ हजार भत्ता उपलब्ध गराउने जानकारी गराएको हो ।

बागमतीले प्राथमिकतामा राखेको ९ खेलको स्वर्ण विजेतालाई मात्र मासिक भत्ता दिने जनाएको छ । जसमा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वादो, ब्याडमिन्टन र पौडी रहेको छ । त्यस्तै प्रतियोगीतामा सहभागी खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राखिने र सो को व्यवस्थापन प्रदेश सरकारले गर्ने बागमती प्रदेशका  युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा खेलाडी छनौट तथा अन्य व्यवस्थापनका लागि ९ करोड ४४ लाख खर्च हुने उहाँले बताउनुभयो । मन्त्री ढकालले बागमती प्रदेशमा कर्मचारी समायोजन संगै प्रशिक्षक, रेफ्री लगाएतका व्यवस्था गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराइसकेको बताउनुभयो ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । नवौंमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । बागमतीले सबै खेलमा सहभागिता जनाउनेछ ।

८) वाणिज्य बैंकहरूसँग राष्ट्र बैंकले माग्यो ब्याजदरको पूर्ण विवरण

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग संस्थागत मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदरको पूर्ण विवरण माग गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकहरूलाई पत्राचार गर्दै तीन दिनभित्र तोकिएको विवरण पठाउन आग्रह गरेको हो । यहि भदौ १ देखि ७ सम्म राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदरको विवरण पठाउन बैंकहरुलाई अनुरोध गरेको हो ।

‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत विन्दुले कम हुनुपर्नेछ,’ राष्ट्र बैंकको एकीकृत निर्देशिकामा भनिएको छ । उल्लिखित व्यवस्था पालना भए÷नभएको सम्बन्धमा जानकारी लिन राष्ट्र बैंकले बैंकहरूसँग संस्थागत मुद्दती निक्षेपको ब्याजदरबारे विवरण मागेको हो ।

९)२०२२ को दोस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब ४६ करोड

२०२२ को दोस्रो त्रैमासम्ममा एनसेलका आम्दानीमा सामान्य गिरावत आएको छ । एनसेलको मुख्य लगानीकर्ता आजियाटाले सार्वजनिक गरेको २०२२ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो अवधिमा एनसेलको आम्दानी ०.९१ प्रतिशतले घटेको हो ।

आजियाटाले सार्वजनिक गरेको विवरणअनुसार दोस्रो त्रैमासमा एनसेलको कुल आम्दानी १० अर्ब ४६ करोड ६० लाख रुपैयाँ भएको । गत आर्थिक वर्षको सोही अवधिमा एनसेलको आम्दानी १० अर्ब ५६ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा एनसेलको भ्वाइस सेवाबाट हुने आम्दानी ११.३ प्रतिशतले घटेको छ भने डेटाबाट हुने आम्दानी बढेको छ ।  दोस्रो त्रैमासमा डेटाबाट हुने आम्दानीको हिस्सा भने बढाएको छ । गत वर्षको दोस्रो त्रैमासमा एनसेलको कुल आम्दानीको २५ प्रतिशत डेटाबाट गरिरहेको थियो भने यो अवधिमा यस्तो आम्दानीको हिस्सा ३० प्रतिशत पुर्याएको छ ।

एनसेलका कुल ग्राहक १ करोड ६८ लाख १७ हजार रहेका छन् । यसमा प्रिपेड ग्राहक १ करोड ६२ लाख ८८ हजार र पोष्टपेड ग्राहक ५ लाख २९ हजार रहेका छन् ।

एनसेलका कुल ग्राहकमध्ये ५६.२ प्रतिशतले डेटा प्रयोग गरिरहेका छन् । गत वर्षको सोही अवधिमा ४७.६ प्रतिशतले मात्र डेटा प्रयोग गरिरहेका थिए । त्यस्तै एनसेलका कुल ग्राहकमध्ये ६८ प्रतिशत अर्थात १ करोड १४ लाख ३५ हजार ५ सय ६० जनाले स्मार्टफोन प्रयोग गरिरहेको विवरणमा उल्लेख छ ।

१०) रिजर्व बैंकद्वारा थोडुपुजा अर्बन को–अपरेटिभ बैंकलाई कडा कारबाही

 भारतीय रिजर्व बैंक (आरबीआई) ले केरलाको थोडुपुजा अर्बन को–अपरेटिभ बैंकलाई कडा कारबाही गरेको छ। यसअन्तर्गत ग्राहकलाई आफ्नो खाताबाट पैसा झिक्न प्रतिबन्ध लगाइएको छ । यस सहकारी बैंकको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले यसमा धेरै प्रतिबन्ध लगाएको छ ।

पीटीआईका अनुसार आरबीआईको यो कारबाहीपछि अब यो बैंकले रिजर्व बैंकको स्वीकृतिबिना न नयाँ ऋण दिन सक्छ न नवीकरण गर्न सक्छ । यसबाहेक बैंकमा कुनै पनि प्रकारको लगानी गर्न वा नयाँ निक्षेप लिन पनि रोक लगाइनेछ ।