१८ माघ, २०८१ शुक्रबार
08:46:19 PM
१० भदौ, २०७९
काठमाण्डौं । अब दसैँ नजिकिदै छ । दसैँको धार्मिक, साँस्कृतिक महत्व बेग्लै छ । दसैँमा नयाँ लुगा लाउने, टिका–जमरा लगाउने, मासु खाने लगायत गरिन्छ ।
मासुका लागि विशेषगरी दसैँमा खसी खाटिन्छन् । जसले गर्दा दसैँमा खसीबोका तथा मासुको माग धेरै हुन्छ । मासु लगायत चौपायाको माग धान्न सरकारी निकाय आफै खटिन्छन् ।
दसैँको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाण्डौं उपत्यकामा दसैँलाई करिब तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले खसीबोका र च्याङ्ग्रा खरिदका लागि अनुमानित ६ करोड रुपैयाँ बजेट छुट्याइएको बताउनुभयो । उहाँका अनुसार आवश्यकता अनुसार बजेट घटबढ हुनसक्छ ।
कम्पनीले लाहान, वीरगञ्ज, मुस्ताङ, दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । यसका साथै उपलब्धताका आधारमा कुन ठाउँबाट कति किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
यस्तै कम्पनीले नजिकिँदै गरेको दसैँ, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल यहि भदौ महिनादेखि नै सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
सहुलियत पसलमा गेडागुडी, दाल, चामल, आटा, गहुँ, तेल, घिउ, चिनी, नुन, चिउरा, पिठो, माछा मासु आदि पर्याप्त मात्रामा उपलब्ध हुनेछन् ।