१८ माघ, २०८१ शुक्रबार
08:37:29 PM
९ भदौ, २०७९
नेपालको स्वामित्व भएका अरु धेरै चलायमान थप सांस्कृतिक सम्पदा पहिचान भई नेपाल फर्किने क्रममा रहेको
काठमाडौँ,
पुरातत्व विभागले बेलायतबाट नेपाल फिर्ता भएका दुई वटा पुरातात्विक एवं सांस्कृतिक महत्वका कलावस्तु र मूर्ति राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ ।
ती दुई वटा पुरातात्विक महत्वका कलावस्तु विहिबार यहाँ आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक दामोदार गौतमले सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
ती दुई वटा पुरातात्विक महत्वका कलावस्तु विहिबार यहाँ आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक दामोदार गौतमले सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
नेपालबाट चोरी भएका दुई पुरातात्विक कलात्मक वस्तु लण्डनस्थित नेपाली राजदूतावास, त्यहाँको मेट्रोपोलिटन पुलिस र नेपालको पर्यटन मन्त्रालय र अर्थमन्त्रालयको समन्वयमा स्वदेशी फिर्ता गरिएको विभागले जनाएको छ ।
बेलायतबाट फिर्ता ल्याइएको सांस्कृतिक महत्वका र पुरातात्विक महत्वका दुई सम्पदा सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको विभागका महानिर्देशक गौतमले जानकारी दिनुभयो ।
उहाँले नेपालको स्वामित्व भएका अरु धेरै चलायमान थप सांस्कृतिक सम्पदा पहिचान भई नेपाल फर्किने क्रममा रहेको बताउनुभयो ।
पुरातात्विक कलावस्तुमध्ये काठको कलात्मक तोरण कला शैलीको हिसाबले १७औँ वा १८औँ शताब्दीतिर बनेको मानिएको छ ।
उक्त तोरण काठमाडौँ महानगरपालिका–२३ मा रहेको कुमारी वहाको प्रवेशद्वार माथिबाट सन् १९८०/९० को दशकमा चोरी भएको थियो ।
यस्तै प्रस्तरबाट निर्मित नमस्कार मुद्रामा बसेको भक्तको मूर्ति कलाशैलीको हिसाबले १६औँ वा १७औँ शताब्दीमा बनेको मानिएको छ । उक्त मूर्ति कामनपा वडा नं २३ मञ्जुश्री मन्दिर नजिकै रहेको ओम बहालबाट सन् १९८० मा हराएको थियो ।
ती कलात्मक सामग्री विभिन्न माध्यम हुँदै लण्डनमा पुगेको र उत्पत्तिस्थल नेपाल भएको पुष्टि भएपछि लण्डनस्थित मेट्रोपोलिटन पुलिसको सहयोगमा १८ मार्च २०२२ मा लण्डनस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलात्मक वस्तुको बीमा तथा ढुवानीको खर्च बेहोरेर ती कलात्मक वस्तु नेपाल ल्याइएको हो ।
नमस्ते एटुजेट कम्पनी लण्डनसँग समन्वय गरी कलात्मक सामग्रीहरु भदौ ७ गते टर्किस एयरबाट इस्तानबुल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विभागको प्रेस विज्ञप्तिमा उल्लेख छ ।