५ जेठ, २०८१ शनिबार

03:58:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डुम्रे–बेँसीशहर सडक दुई लेन, तीनै जिल्लाका बासिन्दा लाभान्वित हुने

४ माघ, २०७८

डुम्रे–बेँसीशहर सडक दुई लेन, तीनै जिल्लाका बासिन्दा लाभान्वित हुने

लमजुङ

लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘डुम्रे बजारबाट २२० मिटरदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५÷१५ मिटरको हुने भएको छ ।’ 

इञ्जिनियर अधिकारीका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने  अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि ३.७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त आयोजनाले जनाएको छ । दायाँबायाँ एक।एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण गरिने भएको छ ।  
अहिले सडकको नाली बनाउने, चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने लगायत निर्माण कार्य भइरहेको छ ।

आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ भने, कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । ८.८ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो ।

डुम्रे बेँसीशहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटर  छ । सडकका लागि भ्याट र पीएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएकामा उक्त जेभीले ३८ करोड नौ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिए लगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको उक्त सडक बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पु¥याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक  कालोपत्र गरिएकोे थियो । कालोपत्रे भएपछि समय–समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो ।

उक्त सडकमा दैनिक सयौँ संख्यामा साना तथा ठूला सवारीसाधन चल्छन् । डुम्रे बेँसीशहरको उक्त सडकहुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् । 

रासस