१८ माघ, २०८१ शुक्रबार

08:43:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः बुधबार पनि सेयर बजारमा झिनो अंकको सुधारदेखि ३ सय वर्षयताकै खराब स्थितिमा बेलायतको अर्थतन्त्रसम्म

Nepal Business

८ भदौ, २०७९

प्रमुख समाचारः बुधबार पनि सेयर बजारमा झिनो अंकको सुधारदेखि ३ सय वर्षयताकै खराब स्थितिमा बेलायतको अर्थतन्त्रसम्म

१) कारोबारको चौथो दिन सेयर बजार झिनो अंकले बढ्यो

सेयर बजारमा बुधबार पनि झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २.८७ अंकले बढेर २ हजार ५७.८५ विन्दुमा बन्द भएको छ ।

सेयर बजार बढ्दा आज १ अर्ब ५२ करोड ६१ लख ८६ हजार २१८ रुपैयाँको कारोबार भएको छ भने ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै ७ उपसमुहहरु उकालो लागेका छन् भने बाँकी ओरालो लागेका छन् । कम्पनीहरुमा मन्दाकनी हाइड्रोपावर र उपर हेवाखोला हाइड्रोपावरमा सकरात्मक सर्किट ब्रेक लागेको छ ।

यस्तै रुरु जलविद्युत परियोजना ५.८६ प्रतिशत, अरुण काबेली मावर ५.२५ र सिन्दु विकास बैंक ४.६२ प्रतिशतले बढेका छन् ।

२) प्रचण्डका घरबेटीको कम्पनीसहित १० निर्माण कम्पनी कालोसूचीमा 

शैलुङस कस्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी सहित  १० वटा निर्माण कम्पनीलाई कालो सूची परेका छन् । शैलुङस कस्ट्रक्सन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का घरवेटीको हो ।

उक्त कम्पनी अहिले शारदाप्रसाद अधिकारीका छोरा अनुप अधिकारीको नाममा कम्पनी रहेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सूचना मार्फत जानकारी दिएको हो ।

विभिन्न पार्टीका व्यक्तिलाई आफ्नो बसमा पारेर सडक, पुललगायत सरकारी र सार्वजनिक संरचना निर्माणको ठेक्का हात पारेर अलपत्र पार्दै आएका छन् । 

उनले शक्तिको आडमा बालाजु–रानीपौवा सडक २०७१ जेठ २२ मा गरिएको सम्झौताअनुसार ०७३ असार ३ सम्म सडक निर्माण सकिनुपर्ने थियो । तर, उक्त सडक  सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का सम्झौता तोडेको थियो ।

यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई चिनियाँ निर्माण कम्पनीलाई पनि कालोसूचीमा राखेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा कार्यालयले चोङदिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनी लिमिटेड र चाङकिङ वाङपियान इलेक्ट्रिक ग्रुप कर्पोरेसन लिमिटेडलाई कालो सूचीमा राखिएको हो । दुवै कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

यस्तै सुन्दरहरैचा नगरपाकिलाको  सिफारिसमा बलिया कन्स्ट्रक्सन इटहरी,   शहरी विकास तथा भवन निर्माण विभागको सिफारिसमा जोसोन कन्स्ट्रक्सन एण्ड सप्लार्स, शुल्ला फाँटा नगरपालिकाको सिफारिसमा जस्ट इन टाइम कन्स्ट्रक्सन पोखरा, नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशको  सिफारिसमा महालक्ष्मी वायर एण्ड केबल इन्डस्ट्रिज कालो सूचीमा परेको सूचना जारी भएको छ ।

यसैगरी अर्जुन धारा नगरपालिकाको सिफारिसमा एस्पियल ग्रुप अफ इन्जिनियर्स विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा सर्जिकल डिस्ट्रिव्यूर्टस धरान र कुम्पायल गाउँपालिकाको  सिफारिसमा तुम्येहाङ निर्माण सेवा फिदिम कालो सूचीमा  राखेको खरिद अनुगमन कार्यालयले जनाएको छ।

३) राष्ट्र बैंकद्वारा चालू पूँजी कर्जामा कडाइ 

नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले मार्गनिर्देशन जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि २ करोड सम्मको चालू पूँजी कर्जाको सीमा निर्धारण गरेको हो ।

राष्ट्र बैंकका अनुसार आगामी कात्तिक १ गतेदेखि उक्त मार्गनिर्देशन कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको हो ।

४) साउन महिनामा नेपालमा २० अर्ब ६४ करोड बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

चालु आर्थिक वर्ष २०७९।८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । नेपालले गत साउन महिनामा भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार साउन महिनामा भारतबाट नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेट आयात गरेको छ । भारतबाट नेपालले सोही अवधिमा ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास आयात गरेको विभागले जनाएको छ ।

 विभागका अनुसार गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८।७९ को साउन महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो ।

५) ५ जीवन बीमा कम्पनीले सार्वजनिक गरे बोनसदर
 

नेपालमा संचालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये हालसम्म ५ वटा कम्पनीले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७७÷७८ को लागि बीमितले पाउने बोनस दर सार्वजनिक गरेका हुन् ।

हालसम्ममा बोनस दर सार्वजनिक गर्ने कम्पनीहरुमा नेशनल लाइफ, मेट लाइफ, ज्योति लाइफ, एशियन लाइफ,आइएमई लाइफ रहेका छन् ।  यी जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७७÷७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् ।

६) सुनकोशी तेस्रोमा बंगलादेश १ अर्ब ४५ करोड डलरको लगानी लगाउन इच्छुक 

सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश उत्साहित देखिएको छ ।  काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको उक्त  जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश इच्छुक देखिएको छ ।

बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको छ ।

अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताउनुभयो । उक्त आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिव स्तरीय संयुक्त निर्देशक समिति र सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकमा सुनकोशी आयोजनाका विषयमा विस्तृत छलफल गरेर ठोस निर्णय गरिने उहाँले बताउनुभयो ।

नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र  निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो ।  बैठकमा पहिलो चरणमा सुनकोशी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो ।

७) काठमाण्डौंमा अनधिकृत रुपमा बनाएको संरचना भत्काउदै महानगर

काठमाण्डौं महानगरपालिकाले काठमाण्डौंका विभिन्न स्थानमा अनधिकृत रुपमा बनाएको संरचना भत्काएको छ । बुधबार महानगरपालिकाका मेयर बालेन्द्र साह लगाएतको टोलीले काठमाण्डौंको सुन्धरास्थीत काठमाण्डौं मल, आर वि कम्प्लेक्स लगाएतका स्थानमा अनाधिकृत रुपमा बनाएर संरचना भत्काएको हो ।

त्यस्तै महानगरले बिशेष प्रायोजनका लागि अन्डरग्राउण्डको स्वीकृति लिएर पसल वा अन्य प्रयोजनमा प्रयोग गरेका स्थानलाई पनि खाली गराएको छ ।

सो क्रममा व्यापारीले विरोध गरेका थिए । उनीहरुले चाडपर्वपछि मात्रै पसल हटाउन आग्रह गरेका थिए। तर मेयर साहले कानून सवैलाई बराबर भएकाले सबै स्थानमा बनाइएका अनाधिकृत संरचनालाई हटाउने स्पष्ट पार्नुभएको थियो ।

त्यस्तै महानगरको टोलीले बुधबार नै दरवारमार्गमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो । 

यस्तै महानगरले काठमाण्डौं जिल्ला अदालतलाई नक्सा पास भएको विवरण पठाउन निर्देशन दिएको छ । महानगरले अदालतलाई पत्र पठाउर्दै अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ । 

महानगरपालिकाको अभिलेखमा जिल्ला अदालतको भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो ।

८) विकास समितिद्वारा नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले  ३५ किलोमिटरको उक्त रेल सेवा सञ्चालका लागि प्रयाप्त ध्यान नपुर्याउन अनेकन समस्या देखिएको भन्दै रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको हो ।

रेल सेवालाई सुधारका लागि आवश्यक जनशक्ति, ममर्त गर्ने वर्कशप, फ्युल सेन्टर स्थापना लगाएतका सम्पूर्ण आवश्यक पूर्वाधार निर्माण गर्न निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

यस्तै विद्युतीय रेल सञ्चालनलाई प्राथमिकता दिने गरी रेलमार्गमा आवश्यक विद्युतीय संरचनाहरू निर्माणको कार्य तत्काल सुरु गर्न पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले नेपालको सबैभन्दा पुरानो र राष्ट्रिय महत्वको पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका क्रममा पूर्व तयारीका काम सकेर मात्र ठेक्का प्रक्रिया अघि बढाउन र नारायणगढ–बुटवल सडक निर्माणमा देखिएका कमीकमजोरी उक्त सडक खण्डमा नदोहोरिनेगरी काम अघि बढाउन निर्देशन दिएको छ भने पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गरिँदा विभिन्न सडक खण्डमा पर्ने वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई ध्यान दिन सरकारलाई निर्देशन दिइएको सभापति खड्काले बताउनुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले लामो समय रेल सञ्चालन नहुँदा कर्मचारी हटाइएको र अहिले कर्मचारी भर्ना गर्न विधि र प्रक्रिया लामो रहेकाले समस्या देखिएको बताउनुभयो ।

उहाँले समयमा नै गुणस्तरिय काम नगर्नेको ठेक्का रद्द गर्न कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो । सांसदहरुले राष्ट्रिय महत्वको आयोजनाहरु निर्माणमा अस्वभाविक ढिलाई भइरहेको भन्दै गम्भीर बन्न सुझाव दिएका थिए । 

९) सामसङको टीभी अब नेपालमै एसेम्बलिङ हुने 

अब नेपालमा पनि सामसङ ब्राण्डको टीभी एसेम्बलिङ उद्योग खुल्ने भएको छ । त्यसका लागि नवलपरासीको भुमहीमा गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सले फ्याक्ट्री सञ्चालन गर्ने भएको हो । 

बुधबार सो फ्याक्ट्रीको एक कार्यक्रम गररी शिलान्यास गरिएको छ । सो कम्पनी । ५० करोडको लगानीमा पूर्वाधार तयार गरिने छ । ३२ देखि ८५ इन्चसम्मका टीभी यहाँ बनाइनेछ । प्रतिदिन १ हजार टीभी तयार हुनेछ भने दुई वर्षमै ५ सय जनाले रोजगारी पाउने अर्गनाइजेसनले जानकारी दिएको छ । हाल हिम इलेक्ट्रोनिक्स सामसङको आधिकारिक डिलरका रुपमा रहँदै आएको छ ।

१०) ३ सय वर्षयताकै खराब स्थितिमा बेलायतको अर्थतन्त्र

बेलायतको अर्थतन्त्र ३ सय वर्षयताकै खराब स्थितिमा पुगेको छ । रोयटर्सको रिपोर्टका अनुसार बेलायत लगायत विश्वभर कोरोना महामारीको प्रकोप जारी रहँदा सन् २०२० मा उत्पादनमा सबैभन्दा धेरै गिरावट आएको जनाइएको छ ।

सो प्रतिवेदन अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मध्येको एक बेलायतमा महामारीले ठूलो प्रभाव पारेको कारणले देशको जीडीपी (युके जीडीपी) अन्य प्रमुख अर्थतन्त्रहरूको तुलनामा निकै खराब देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले सन् २०२० मा बेलायतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ११ प्रतिशतले घटेको बताएको छ । यो तथ्यांक ओएनएसले गरेको प्रक्षेपणभन्दा धेरै हो ।

प्रतिवेदनका अनुसार यो सन् १७०९ यता देशको जीडीपीमा सबैभन्दा धेरै गिरावट देखिएको हो । तर, बेलायती शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि मात्रै सात दशकमा विश्वकै तीव्र गतिमा वृद्धि हुने देशमा गनिएको थियो  ।