१८ माघ, २०८१ शुक्रबार

07:22:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा झिनो अंकको सुधारदेखि अदानी समूहले होल्सिमको २६ प्रतिशत सेयर खरिद गर्नेसम्म

Nepal Business

७ भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा झिनो अंकको सुधारदेखि अदानी समूहले होल्सिमको २६ प्रतिशत सेयर खरिद गर्नेसम्म

१) सेयर बजारमा झिनो अंकको सुधार 

दुई दिन लगातार घटेको सेयर बजार मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १.८१ अंकले बढेर नेप्से परिसूचक २ हजार ०५४.९५ मा पुगेर बन्द भएको छ ।

झिनो अंकले सेयर बजार बढ्दा कारोबारमा त्यति सुधार देखिएन । आज १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ भने ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै ६ उपसूचकहरु बढेका छन् भने बाँकी घटेका छन् । कम्पनीहरुमा रुरु जलविद्युत परियोजना र मन्दाकनी हाइड्रोपावरमा सकरात्मक सर्किट ब्रेक लागेको छ भने उपर हेवाखोला हाइड्रोपावर कम्पनी ९.९७ प्रतिशतले बढेको छ । 

२) बीओके र हिमालयन बैंकले पाए डेढ अर्ब रकम फिर्ता

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मुद्दा जितेपछि करिब डेढ अर्ब रकम फिर्ता पाएका छन् ।यी बैंकले एक दशक लामो प्रयासपछि चीनमा मुद्दा जितेपछि करिब डेढ अर्ब रकम फिर्ता पाएका हुन् ।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुल उपर सम्बन्धी मुद्दा चीनको अदालतमा सुनुवाइ भएको थियो । गत साउन १५ गते यी २ बैंकले मुद्दा जितेका हुन् । मुद्दाको अन्तिम फैसला भएको २० दिनपछि बैंकले सबै पैसा फिर्ता पाएका छन्।

बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयन बैंकले ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता पाएको हो। यसअघि, २ वर्षअघि पनि यी २ वटै बैंकले मुद्दा जितेका थिए । तर, मुद्दा हारेको पक्ष माथिल्लो अदालत गएको थियो । नेपालका बैंकले मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले पैसा फिर्ता गरिदिएको हो ।

३) मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताउनुभएको छ ।

देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरवलोकन गरि सरकारलाई सिफारिस गर्न आयोग गठन गरिएको उहाँले बताउनुभयो ।

बैठकले बिमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेश्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने यस अघिको निर्णय खोरज गर्ने निर्णय गरेको छ भने बालाजु त्रिशुली सडक खण्डको मुड्खु तीनपिप्ले ५.५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडी बढाउन विशेष परिस्थीतिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । 

त्यस्तै बैठकले फौजदारी कसुर दोश्रो शंसोधन नियमावली स्वीकृत गर्ने, बिधुतीय सुशासन आयोग आदेश स्वीकृति गर्ने र विदेशस्थीत नेपाली नियोगको आर्थिक कार्यबिधि स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको छ ।

४) चालु आर्थिक वर्षको एक महिनामा १२.९० प्रतिशतले घट्यो आयात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा आयात घटेको छ । सो अवधिमा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको हो । यो वर्षको पहिलो महिनाको तुलनामा १२.९० प्रतिशतले कम हो ।

गत आवको पहिलो महिनामा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको भन्सार विभागले जनँएको छ । 

विभागका अनुसार चालु आवको पहिलो महिनामा निर्यात २८.६८ प्रतिशतले घटेको छ । गत आवको सोही अवधीमा २० अर्ब ७६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो भने चालु आवको पहिलो महिनामा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ ।

चालु आवको पहिलो महिनामा १० प्रतिशतले ब्यापार घाटा घटेको छ । गत आवमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको व्यापमर घाटा भएको थियो भने चालु आवमा यो घाटा घटेर १ खर्ब १६ अर्व रुपैयाँमा झरेको छ ।

५) विभिन्न मागसहित फुटपाथ व्यापारी आन्दोलित

फुटपाथ व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानर बोकी फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा गरेका छन् । 

उनीहरुले सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र  राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरि स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु  कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । 

६) १९ जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक

विभिन्न १९ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार नौं वटा जीवन बीमा कम्पनीको नाफा घटेको छ भने १० वटा कम्पनीहरुको नाफा बढेको हो ।

७) चालु आर्थिक वर्षको एक महिनामा ३८ अर्ब कुल पुँजीसहित १० वटा ठूला उद्योग दर्ता

चालु आर्थिक वर्षको साउन महिनामा ३८ अर्ब कुल पुँजीसहित १० वटा ठूला उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार साउन महिनामा ३८ अर्ब १९ करोड ४ लाख ९७ हजार रुपैयाँको कुल पुँजीसहित १० वटा उद्योग दर्ता भएका हुन् ।

त्यस्तै, साउन महिनामा स्वदेशी तथा विदेशी लगानीमा १ अर्ब २७ करोड २८ लाख रुपैयाँको कुल पुँजीसहित ६ वटा मध्यम वर्गका उद्योग र २ अर्ब ६ करोड ३२ लाख ५० हजार रुपैयाँको १२ वटा साना उद्योग दर्ता भएका छन् । उक्त दर्ता भएको उद्योगबाट १९ सय ३४ जनाले रोजगारी पाउनेछन् ।

गत वर्षको सोही अवधिमा उद्योग विभागमा २१ अर्ब ९५ करोड २० लाख रुपैयाँको ११ वटा ठूला उद्योग दर्ता भएका थिए । त्यस्तै, ५ अर्ब ३५ करोड ७ लाख ६४ हजार रुपैयाँ कुल पुँजीको १५ वटा उद्योग र १ अर्ब ६२ करोड ५३ लाख १४ हजार रुपैयाँ कुल पुँजीको साना उद्योग दर्ता भएका थिए ।

८) मनोमानी ब्याजदर रोक्न चौथोपटक राष्ट्र बैंकले आफैँ खरिद गर्यो ट्रेजरी बिल 

ब्याजदर मनोमानी रोक्न लगातार चौथोपटक नेपाल राष्ट्र बैंकले आफैँ ट्रेजरी बिलको ठूलो हिस्सा खरिद गरेको छ। सोमबार बोलकबोल भएको कुुल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलको ठूलो हिस्सा राष्ट्र बैंक आफैँले किनेको हो।

मौद्रिक नीति सार्वजनिकपछि हालसम्म आउँदा ५ वटा ट्रेजरी बिल जारी गरिएको छ। तीमध्ये पछिल्लो ४ वटा ट्रेजरी बिलमा रष्ट्र बैंकले ठूलो अंश आफैँले खरिद गरेको जनाइएको छ । 

९) लाहोरका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

लाहोर सहरका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरिएको छ । पाकिस्तानस्थित नेपालका राजदूतले लाहोर सहरका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो । 

लाहोर चेम्बर अफ कमर्स (एलसीसीआई)का प्रमुख एवम् अन्य पदाधिकारीसँगको छलफलमा राजदूत तपस अधिकारीले नेपालमा लगानीका लागि अनुरोध गर्नुभयो । 

राजदूतावासका अनुसार राजदूत अधिकारीले एलसीसीआईका प्रमुख मियान नौमान कबिर र अन्य पदाधिकारीसँग नेपालमा लगानीका लागि छलफल गर्नुभएको थियो । 
उहाँका अनुसार नेपाल र पाकिस्तानको द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ। 

१०) अदानी समूहले होल्सिमको २६ प्रतिशत सेयर खरिद गर्ने

 भारतको अदानी समूहले दुई भारतीय कम्पनी एसीसी र अम्बुजा सिमेन्टमा स्वीसस्थित कम्पनी होल्सिमको २६ प्रतिशत सेयर खरिद गर्ने भएको छ । अदानी समूहले अर्को साता सेयर अधिग्रहण गर्न खुला प्रस्ताव राख्न सक्छ । यसका लागि सेबीबाट स्वीकृति प्राप्त भइसकेको छ । 

ओपन अफर २६ अगस्टबाट सुरु भई सेप्टेम्बर ९ मा समाप्त हुनेछ । यदि यो प्रस्ताव पूर्ण रूपमा सदस्यता लिएको छ  । अदानी समूहले खुला प्रस्ताव अन्तर्गत ३१,००० करोड रुपैयाँ भारु तिर्नेछ।