१७ फागुन, २०८१ शनिबार
12:08:14 PM
६ भदौ, २०७९
१) सेयर बजारमा ७.३८ अंकको गिरावट
साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ७.३८ अंकले सेयर बजार घटेर नेप्से परिसूचक २ हजार ५३.१६ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँको कारोबार भएको छ भने ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै म्युचल फण्ड बाहेक सबै उपसूचकहरु घटेका छन् भने कम्पनीहरुमा उपर हेवाखोला हाइड्रोपावरमा सकरात्मक सर्किट ब्रेक लागेको छ ।
त्यस्तै मन्दाकी हाइड्रोपावर कम्पनी ९.९७ प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचल फण्ड ७.२२ प्रशितले बढेको छ ।
२) राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्यो
नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गरेको छ । सोमबार बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २३ करोड ३२ लाख रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कूल १२ अर्ब २३ करोड ३२ रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरेको हो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे भएको राष्ट्र बैंकले जानकारी दिएके हो । बोलकबोलमा सहभागीले क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी असोज ४ गते, ९१ दिने ट्रेजरी आगामी मंसिर ६ गते, परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी फागुन ९ गते र ३६४ दिन अवधिको ट्रेजरी विंस २०८० भदौ ५ गते परिपक्व हुनेछ ।
यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ ९१ दिन अवधिको २ अर्ब रुपैयाँ र १८२ लिदन अवधिको ६ अर्ब रुपैयाँ गरी कूल १३ अर्ब रुपैयाँको ट्रेजरी बिलबिक्री गरेको थियो। राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।
३) विप्लवसहितका ४ दलद्धारा नेपाल बन्दको घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न ४ साना दलले नेपाल बन्दको घोषणा गरेका छन् । उनिहरुले भोलि ( भदौ ७ गते मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धि र सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै आफुहरुले मंगलबार नेपाल बन्दको घोषणा गरेको जनाएका छन् । उनीहरुले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् ।
४) काठमाण्डौं महानगरद्वारा नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु
काठमाण्डौं महानगरपालीकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु गरेको छ । नक्सापासमा अन्डरग्राउण्ड पार्किङ बनाउने भनिएपनि त्यसको विपरित पसल सञ्चालन गरिएपछि महानगरले पसलहरु हटाउन सुरु गरेको हो ।
पहिलो चरणमा काठमाण्डौं महानगरका प्रमुख बालेन्द्र साह काठमाण्डौंको नयाँ बानेश्वर पुगेर पसल हटाउन सुरु गर्नुभएको थियो । भवन निर्माण गर्दा जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएपनि त्यस विपरितको कार्य भएको महानगरले जनाएको छ।
प्रयोजन विपरीतका पसल हटाउन ३५ दिने सूचना जारी गरेपछि अटेर गरेकाले महानगरले पसल हटाउन सुरु गरिएको महानगरपालिका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
उहाँले अन्य स्थानमा पनि प्रयोजन विपरित राखिएका पसलहरु हटाउने बताउनुभयो । संरचना भत्काउन महानगरको टोली पुग्दा व्यापारिहरुले चाडपर्वपछि मात्र हटाउन आग्रह गरेको थियो । तर महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरेकाले म्याद थप गर्न नसकिने स्पष्ट पारेको छ ।
५) वाणिज्य बैंकहरुलाई सीडी रेसियो कायम गर्न सकस
निक्षेप घट्दा तीन वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ । पुँजी कोषबाहेकको ऋणपत्र तथा सापटी र निक्षेप समेत जोडेर आउने कुल रकममा ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा दिन पाउँछन् ।
मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार सिडि रेसियो ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्नसक्ने व्यबस्था छ । सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न राष्ट्र बैंकले गत आवमा बैंक तथा वित्तीय संस्थाहरुलाई गत असार मसान्तसम्मको समयसीमा दिएको थियो।
राष्ट्र बैंकको समससीमासम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल नै रहेपनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २६ वटा वाणिज्य बैंकमध्ये अधिकांशले सीडी रेसियो ९० प्रतिशतभन्दा तल नै राखेका छन् भने ३ वटाको ९० प्रतिशतभन्दा माथि पुगेको छ ।
६) अब आईपीओ भर्दा लाग्ने सिआस्वा शूल्क बढीमा ५ रुपैयाँ मात्र लाग्ने
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ भर्दा लाग्ने सिआस्बा शुल्क घटाउने तयारी गरेको छ। धितापत्र बोर्डले आईपीओ भर्दा लाग्ने सिआस्वा शूल्कको अधिकतम सिमालाई ९५ प्रतिशतले घटाउने तयारी गरेको छ ।
हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले अधिकतम १०० रुपैयाँसम्म सिआस्वा शूल्क लिन पाउने कानुनी व्यवस्था रहेकोमा अब बोर्डले उक्त व्यवस्थालाई परिमार्जन गरी अधिकतम ५ रुपैयाँ सम्म सिआस्वा शूल्क लिन पाउने व्यवस्था गर्न लागेको हो । अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सीआस्बा सेवा प्रदान गर्दै आएका छन्।
आईपीओ भर्दा लाग्ने शूल्कलाई परिमार्जन गरि अधिकतम ५ रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था कार्यन्यनका लागि बोर्डमा छलफल समेत भइसकेको र अब छिट्टै कार्यन्यनमा जाने बोर्डले जनाएको छ । बैंक तथा वित्तिय संस्थाहरुले मनपरी सिआस्वा शूल्क लिएको भन्दै लगानीकर्ताहरुको चर्को बिरोध गर्दै आएका थिए।
७) आयल निगमको भारतीय ऋण तिर्नका लागि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव पाण्डेलाई जिम्मा
सरकारले आयल निगमको भारतीय ऋण तिर्नका लागि व्यावस्थापकीय भूमिका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेश पाण्डेलाई दिएको छ।
सो जिम्मेवारी मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले उहाँलाई दिएको हो । एक महिना अघि ३१ अर्ब १६ करोड रुपैयाँ उधारो असुलीको विषयमा भारतको केन्द्र सरकारले नै ताकेता गरेको हो ।
इन्डियन आयल कर्पोरेसनले निगमलाई बक्यौता तिर्न पटक–पटक ताकेता गरिरहेको छ । एक महिना अघि भारतको केन्द्र सरकार नै ताकेतामा उत्रिएको हो। काठमाण्डौंस्थित भारतीय राजदूतावासले नै पत्राचार गरेको हो । पत्रमा उल्लेख गरिएअनुसार निगमले कर्पोरेसनलाई १९ सय ४९ करोड भारु (३१ अर्ब १६ करोड रुपैयाँ) तिर्न बाँकी छ।
यो पत्र परराष्ट्र मन्त्रालय हुदैं प्रधानमन्त्री कार्यालय पुगेको थियो । प्रधानमन्त्री कार्यालयले वाणिज्य सचिव पाण्डेलाई ऋण तिर्ने व्यावस्था गर्न जिम्मा दिएको हो ।
८) बेलायतमा नेपाली नर्स लैजान समझदारीपत्रमा हस्ताक्षर
नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमका बीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स) लाई रोजगारी दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्नताको वातावरण तयार हुने र जनशक्तिको विकास समेत मद्धत पुग्ने मन्त्रालयले जनाएको छ । बेलायतमा स्वास्थ्य सेवामा कार्यरत रहदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ ।
नेपाली स्वास्थ्यकर्मी छनौट, पदस्थापन, सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र यससम्बन्धी सवै व्यवस्था जिटुजी प्रक्रिया बमोजिम हुने मन्त्रालयले जनाएको छ ।
९) शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । सोमबार बसेको बैठकले कांग्रेस सांसद प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
बैठकमा सभामुख अग्नी सापकोटाले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भाद्र ७ गते १० बजे बोलाइएको छ ।
त्यस्तै सोमबार नै बसेको राष्ट्रियसभाको बैठकले पनि गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भाद्र १२ गते बस्नेगरि स्थगीत भएको छ ।
वि.स २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सांसद गिरीको ७५ वर्षको उमेरमा शनिबा निधन भएको थियो । गिरीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
१०) अमेरिकाले नेपाललाई १५ मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा
अमेरिकाले नेपाललाई १५ मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । अमेरिकाले विश्व खाद्य संकटको सम्बोधन गर्न नेपाललाई १५ मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा गरेको हो ।
अमेरिकाले नेपालसहित विश्वका ४७ मुलुकहरुलाई खाद्य, रासायनिक मल र इन्धनको मूल्य महंगीएसँगै त्यसबाट बढ्दो गरिबी, भोक र कुपोषणबाट बँच्न सहयोग रकम प्रदान गर्ने जनाएको छ ।
अमेरिकाले विश्व खाद्य संकटको लागि २.७६ बिलियन अमेरिकी डलर अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत् सहयोग गर्ने निर्णय गरेको थियो ।
सोही कार्यक्रम अन्तर्गत यूएसएआईडीमार्फत् नेपालले १५ मिलियन अमेरिकी डलर पाउन लागेको हो ।
उक्त सहयोग रुसले युक्रेनमाथि गरेको युद्धको कारण बढ्दै गरेको संकटबाट नेपालका प्रभावित मानिसलाई सहयोग गर्न दिइएको अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।