१८ माघ, २०८१ शुक्रबार
08:33:09 PM
५ भदौ, २०७९
१) नेप्सेमा सामान्य गिरावट, दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । गत सातामा बढेर बन्द भएको सेयर बजार यो साताको सुरुवात मै घटेको हो। पि–ओपनिङ सेसनमा बढेको नेप्से परिसूचक बजार बन्द हुने बेलासम्ममा घटेको हो ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा बन्द भएको छ । यस दिन २१८ कम्पनीको ५२ लाख ४८ हजार ९५८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १ करोड ५५ लाख ८७ हजार ७७६ रुपैयाँको कारोबार भएको छ ।
आइतबार कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १३२ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिन दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
कारोबारको आधारमा आइतबार रिडी पावर कम्पनीको सर्वाधिक खरिदबिक्री भएको छ । सिभर फल्स कम्पनीको र हिमालयन हाइड्रो पावर कम्पनीको सेयरमूल्यमा यस दिन ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
२) थप १११ मेगावाट निर्यात प्रस्ताव, साउनमा निर्यातबाट २ अर्ब आम्दानी
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको लागि भारतमा प्रस्ताव पठाएको छ ।
प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने छ । अहिले ३६४ मेगावाट बिजुली भारतमा विक्री भइरहेको छ ।
प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
चालु आर्थिक वर्ष (आव) २०७९।८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाएको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी आइएक्सको डे अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
आईएक्समा २४ घण्टालाई १५।१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ । गत आव २०७८।७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । ढल्केबर मुज फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ ।
गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो । योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिश्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।
भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।
प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन) ले गर्छ छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।
३) एक वर्षमा सेयर धितो राखेर ऋण लिने लगानीकर्ताको लागत ५०.४९ प्रतिशतले बढ्यो
वाणिज्य बैंकहरुबाट सेयर धितो राखेर ऋण लिने लगानीकर्ता बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबाट समग्र ऋण लिनेको लागत एक वर्षमा ३७ प्रतिशतले बढेको थियो । तर, सेयर धितोमा जाने कर्जाको लागत एक वर्षमा ५०.४९ प्रतिशत छ । गत आर्थिक वर्षको साउनमा बैंकले सेयर धितोमा दिने कर्जाको ब्याजदर ८.१४ प्रतिशत थियो । सेयर धितोमा दिने कर्जाको ब्याजदर हरेक महिना बढ्दा असार मसान्तमा १२.२५ प्रतिशत पुगेको छ ।
गत साउनमा सेयर धितो राखेर ऋण लिने लगानीकर्ताले ऋणमा औसत ८.१४ प्रतिशत ब्याज तिरे पुग्थ्यो । अहिले उक्त ब्याजदर बढेर औसतमा १२.२५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष प्रत्येक महिना बढेको ब्याजदर र घटेको ऋणको सीमाका कारण बजार घट्न सहयोग गरेको लगानीकर्ताको भनाइ छ । सो आवमा सेयर बजार ८३७.९३ अंकले घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउन महिनामा सेयर धितोमा जाने कर्जाको ब्याजदर ८.१४ प्रतिशत रहेको थियो । साउन महिनामा लगानीकर्ताहरुले २७ वटा वाणिज्य बैंकबाट ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए ।
यस्तै भदौ महिना ब्याजदर बढेर ८.२६ प्रतिशत पुगेको थियो । भदौमा बैंकले लगानीकर्तालाई ८८ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा दिएका छन् । असोजमा बैंकको ब्याज बढेर ८.३६ प्रतिशत पुग्यो । त्यस महिना बैंकबाट लगानीकर्ताले ८८ अर्ब २० करोड ६० लाख कर्जा लिएका थिए ।
कात्तिक महिनासम्म मात्रै सेयर धितोमा जाने कर्जाको ब्याजदर ९ प्रतिशत भन्दा तल रहेको देखिएको छ । त्यसपछि ब्याजदर ९ प्रतिशत भन्दा बढी भयो । कात्तिकमा सेयर धितोमा जाने कर्जाको ब्याजदर ८.८३ प्रतिशत रहेको थियो । ब्याजदर बढ्दा घट्दै गएको कर्जाको सीमा कात्तिकमा ८६ अर्ब १५ करोड ९४ लाख रहेको थियो ।
मंसिरमा सेयर धितोमा जाने कर्ताको ब्याजदर ९.१२ प्रतिशत पुग्यो । मंसिरमा भने बैंकबाट जाने सेयर धितोकर्जा ८४ अर्ब ६१ करोड १६ लाख रुपैयाँ पुगेको छ । यस्तै पुसमा पनि बैंकहरुले सेयर धितोमा जाने कर्जामा ९.४१ प्रतिशत ब्याज लिए । त्यस महिना ८३ अर्ब ७० करोड ५३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।
माघमा सेयर धितोमा लिने कर्जाको ब्याजदर १०.३३ प्रतिशत, फागुनमा १०.५९ प्रतिशत र चैतमा १०.९० प्रतिशत रहेको थियो । माघ महिना बैंकले लगानीकर्तालाई ८२ अर्ब ४४ करोड ७४ लाख, फागुनमा ७९ अर्ब ७७ करोड ७६ लाख र चैतमा ७८ अर्ब ४० करोड ९९ लाख रुपैयाँ कर्जा दिएका छन् । कर्जाको सीमा हरेक महिना घट्दो क्रममा रहेको देखिन्छ ।
निरन्तर बढेको बैंकको ब्याजदर वैशाख महिनामा भने ११.९० प्रतिशत रहेको छ । वैशाख महिनामा लगानीकर्ताले बैंकबाट सेयर धितोका लागि ७५ अर्ब १६ करोड ८८ लाख रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै जेठ र असारमा बैंकको ब्याजदर १२ प्रतिशत भन्दा बढी रहेको राष्ट्र बैंकले जनाएको छ । यी महिना बैंकको ब्याजदर क्रमशः १२.०६ र १२.२५ प्रतिशत रहेको थियो । जेठमा लगानीकर्ताले बैंकबाट सेयर धितो कर्जाको रुपमा ७१ अर्ब ७१ करोड ३७ लाख र असारमा ६४ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
४) आजदेखि बजेटमा तोकिएका बाहेक नयाँ कार्यक्रम गर्न नपाइने
निर्वाचन आयोगले आज (भदौ ५ गते आइतबार) देखि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा रोक लगाएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले विज्ञप्ति मार्फत जानकारी दिनसभएको छ ।
उहाँका अनुसार नयाँ योजना र कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने तथा समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने भन्दै नयाँ योजना र कार्यक्रममा रोक लगाईएको हो ।
‘मतदातालाई प्रभावित पार्ने एवम निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने निर्वाचन पुर्वाधार विकास कार्यक्रम वा पुर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन नेपाल सरकार, सात वटै प्रदेश सरकार र ७५३ वटै स्थानिय तहहरुलाई आयोगले निर्देशन दिएको छ’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
५) साउनमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्बले घट्यो, सीडी रेसियो कति ?
काठमाडौं । साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज (आइतबार) सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको हो। योसँगै साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ।
गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो। साउन अन्तिम ४ दिनमा वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ। एनबीएका अनुसार साउन लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ। योसँगै साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो।
साउन मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.०७ प्रतिशत कायम भएको छ। साउन मसान्तसम्म २६ वटा वाणिज्य बैंकमध्ये ३ वटाको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको छ भने बाँकी २३ वटाको ९० प्रतिशतभन्दा तल रहेको छ।
६) आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारसँग माग्यो १० अर्ब ९८ करोड
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि करिब ११ अर्ब रुपैयाँ बजेट माग गरेको छ । आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक पर्ने बजेटबारे शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको जानकारी दिनुभयो ।
७) कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने बुटवल उपमहानगरपालिकाको निर्णय
बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले कर्मचारीहरुले लिंदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय हो ।
उपमहानगरमा करिब ४० जना उच्च तहका कर्मचारीले यो सुविधा लिंदै आएका थिए । नगरको खर्चमा मितव्ययी हुन निर्णय गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । साथै, बैठकले बुटवल–१५ कर्साघाटमा २ अर्ब लागतमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार सम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।
मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने वार्षिक कार्य सञ्चालन तालिका स्वीकृत गरेको छ । यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्य सञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोक सेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको बताइएको छ ।
८) न्यूनतम पारिश्रमिक नपाएको भन्दै सामुदायिक विद्यालयका कर्मचारी धर्नामा
सामुदायिक विद्यालयका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौंमा धर्ना दिएका छन् । केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा धर्ना दिएका हुन ।
चालू आर्थिक बर्षको बजेटमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरे बमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख रहेको र त्यसका लागि सरकारले मासिक पारिश्रमिक ८ हजार उपलब्ध गराउने तथा न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले ब्यहोर्ने व्यवस्था गरिएको छ ।
तर स्थानीय तहहरुले आफुहरुलाई कुनै रकम उपलव्ध नगराएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । धर्नाबाट पनि आफुहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
९)चिनियाँ नाकामा रोकियो सामान, समस्या समाधान गर्न सरकारसँग आग्रह
काठमाडौं । दसैँको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु चिन्तित बनेका छन् । नेपालीहरुको महानपर्व दशैं तथातिहार नजिकिएको बेलानाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायीमहासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधा गर्न सरकारसँग अनुरोध गरेको छ ।
आइतबार महासंघका अध्यक्षकुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधा गर्न अनुरोध गर्नुभएको छ । ‘चाडपर्व लक्षित सामानहरु चिनियाँ नाकामा केही समयदेखि रोकिएको र समयमा सामान आइनपुग्दा सम्पूर्ण व्यवसायीहरु धराशायी हुने खतरा बढेको छ, विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीहरुले निकै समस्या खेपिरहेका छन्, सीमानामा यही किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको छ, यसर्थ, नाकामा देखिएका समस्याहरु समाधान गर्नका लागि आवश्यक कुटनीतिक पहल गरी यथाशिघ्र यी समस्याहरु समाधान गरिदिनु हुन नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालाहरुसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघ अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
१०) आर्थिक संकटमा रहेको श्रीलंकालाई अष्ट्रेलियाको दुई करोड ५० लाख डलर सहयोग
काठमाडौं । चरम आर्थिक संकटमा रहेको श्रीलंकालाई अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोलम्बोलाई अत्यावश्यक खाखन्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको हो ।
अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले उक्त सहयोग घोषणा गरेका हुन् ।