१७ फागुन, २०८१ शनिबार

03:10:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेपदेखि श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदनसम्म

Nepal Business

३ भदौ, २०७९

प्रमुख समाचारः वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेपदेखि श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदनसम्म

१) वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो ।

सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ ।

सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एकदिनमै कर्जा लगानी तीन अर्ब रुपैयाँले बढेको हो । बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ। ८८.२७ प्रतिशत पुगेको सीडी रेसियो ८८.०७ प्रतिशतमा झरेको हो।

२) साउन महिनामा ५ सहकारीसहित २ हजार भन्दाबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा

चालु आर्थिक वर्षको साउन महिनामा ५ सहकारीसहित २ हजार भन्दाबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार एक महिनाको अवधिमा ५ सहकारी संस्था सहित २ हजार २५ व्यक्ति तथा कम्पनीहरु कालो सुचीमा परेका हुन् ।

कालोसूचीमा पर्ने सहकारीमा जय हनुमान बचत तथा ऋण सहकारी संस्था रहेको छ । सो सहकारीका सञ्चालकमा रविन कुमार थापा र राम बहादुर खड्का रहेका छन् । सारथी ओभरसिज रिक्रयुमेन्ट प्रालि र कर्णाली मल्टी रियल स्टेट कम्पनी पनि सोही महिना कालोसूचीमा परेको हो केन्द्रको तथ्यांकमा उल्लेख । 

यस्तै केन्द्रले पुन्यभुमी सेभिङ एण्ड क्रेडिट को–अपरटिभ र देउराली मल्टीप्रपोज को–अपरेटिभलाई पनि कालोसूचीमा राखेको छ । पुन्यभुमी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा सुनिल कुमार श्रेष्ठ र टंक बहादुरकार्की रहेका छन् भने देउराली मल्टीप्रपोज को–अपरेटिभका सञ्चालकमा पुजा खत्री र रविन्द्र चौलागाई रहेका छन् ।

कालोसुचीमा पर्ने कम्पनीहरुमा हार्डवयर सप्लायर्स देखी बचत तथा ऋण सहकारी समेत रहेका छन् । यस अवधिमा हात्तीगौंडा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, इन्टरनेशनल एक्पो एण्ड ट्राभल सर्भिस, जाल्पादेवी अटोमोटिभस प्रालि र कान्छाराम कन्ट्रक्शन प्रालि रहेका छन् । 

यस्तै होलिडे रेष्टुरेन्ट एण्ड सिसा क्याफे, वरपीपल किसान फार्म, एक्पो इन्टेरियर एण्ड कन्ट्रक्शन, अभियान कृषि विकास केन्द्र प्रालि, डाइमन्ड इन्टरनेशनल नेपाल, मनास्लु जडिबुटी प्रशोधन उद्योग, न्यु जयमाँ भगवती इट्टा उद्योग र जनमिलान सेभिङ एण्ड क्रेडिट को अपरेटिभ कम्पनी रहेका छन् । 

केन्द्रका अनुसार तन्दुरी फुडल्याण्ड वीथ थकाली भान्साघर, न्यु पाथीभरा फर्निचर उद्योग, अन टाइम फर्मास्युटिकल्स एण्ड सर्जिकल प्रालि, टेलिपोर्ट एक्पो एण्ड इम्पोर्ट प्रालि रहेका छन्। 

यसैगरी  कालोसूचीमा पर्ने अन्य कम्पनीहरुमा फर्पिङ दक्षिणकाली मेट्रो बस सर्भिस, एशोसिएट्स वेलकम इन्टरनेशनल प्रालि, स्वागतम यातायात लिमिटेड, रोयल मिथिला  एक्पोर्ट इम्पोर्ट प्रालि, डेरी डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर,बाल निकेतन एजुकेशन फाउन्डेशन र लाइफ टुर एण्ड ट्राभल प्रालि रहेका छन् । रेड डिंगो रेष्टुरेन्ट एण्ड बटिक इन प्रालि र पिस ल्याण्ड होटल एण्ड रेष्टुरेन्ट रहेका छन् ।

३) घरजग्गामा लगानी नगर्न सहकारीलाई विभागको निर्देशन

सहकारी विभागले सहकारी संस्थाहरूलाई घरजग्गाजस्ता स्थिर सम्पत्तिमा लगानी नगर्न निर्देशन दिएको छ । विभागले सुचना जारी गर्दै सहकारीलाई स्थिर सम्पतिमा लगानी नगर्ने निर्देशन दिएको हो ।

त्यस्तै, विभागले लामो अवधिको क्षेत्रमा समेत कर्जा प्रवाह नगर्न निर्देशन दिएको हो । विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा लगानी गर्न सुझाव दिएको छ । त्यस्तै, दीर्घकालीन स्रोत सुनिश्चित नगरी कर्जा लगानी नगर्नसमेत सुझाएको छ ।

ऋण असुली प्रक्रियालाई प्राथमिकता दिई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने विभागले आग्रह गरेको छ । संस्थाको तर्फबाट कर्जा प्रवाहलगायतको कार्य गर्दा सञ्चालक समितिको बैठकको निर्णयबाट मात्रै गर्ने, एकल निर्णय गरेको अवस्थामा जिम्मेवारी र जवाफदेहिता स्वयं निर्णयकर्ताको नै हुनुपर्नेछ ।

विभागले घाटामा संचालन भइरहेका सहकारी संस्थालाई सेयर लाभांश तथा कर्मचारीलाई बोनस दिन रोक लगाएको छ । सहकारी नाफामा नगएसम्म संचालकहरूको सुविधा कटौती गर्ने, प्रशासनिक खर्च घटाउने, घाटामा चलेका शाखा वा सेवा केन्द्रहरू बन्द गर्न निर्देशन दिएको छ ।

विभागले सहकारी संस्थाहरूलाई ऐन–नियमअनुसार काम गर्न र सहकारी महासंघ तथा राष्ट्रिय सहकारी बैंकलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।

त्यस्तै, प्रत्येक सहकारी संघ–संस्थाले एक हप्ताभित्रमा सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल सेयर सदस्य संस्था, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषहरूको जम्मा रकम संस्थाका सेयर सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी दिनसमेत विभागले निर्देशन दिएको छ । साथै, आगामी दिनमा मासिक रूपमा सो जानकारी सार्वजनिक रूपमा सूचना निकाली जानकारी गराउन निर्देशन दिएको छ ।

४) कच्चा पदार्थमा चर्को भन्सार दरले स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीहरुको भनाइ 

सरकारले सेनेटरी प्याडमा लगाइएको भन्सार दरका कारण उद्योग बन्द हुन थालेको व्यवसायीहरूले बताएका छन् । शुक्रबार नेपाल सेनेटरी प्याड उत्पादक संघको प्रथम अधिवेशनमा व्यवसायीहरूले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल छुट दिएको सरकारले कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै उद्योग बन्द गर्न बाध्य भएको बताएका हुन् । 

सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा सेनेटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ।
तर विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगीले भने विभिन्न वस्तुमा भन्सार महसुल सरदरमा ७.५ प्रतिशत तिर्नुपर्ने भएकाले नेपालमा उत्पादन गर्ने नसक्ने स्थिति आएको व्यवसायीहरूको बताएका छन् । 

संघका अध्यक्ष विश्व थापाले सरकारको नीतिले नै प्याड उद्योगमा आकर्षण भएको भए पनि अहिले सरकारकै नीतिले विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । 

सरकारले आयातित प्याडलाई ९० प्रतिशत छुट दिई कच्चा पदार्थमा चर्को भन्सार दर कायम गरेको पनि बताउनुभयो । उक्त व्यवस्थाले स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

५) ३८ लाख ६० हजार बराबरको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

पर्सा प्रहरीले चामल भन्दै सुर्ती र पान मसला ल्याएको ना ८ ख ३४२६ नम्बरको ट्रक नियन्त्रणमा लिएको  छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले उक्त मालवाहक ट्रकमा चामलको बिल मात्र साथमा रहेको तर सुर्तीजन्य वस्तु पनि लोड गरेको पाइएकाले वीरगंजको परवानीपुर चोकबाट नियन्त्रणमा लिएको हो । 

उहाँका अनुसार ३८ लाख ६० हजार १०० मूल्य बराबरको १६ बोरा सुर्ती, १४ बोरा चैनी पानमसला तथा १० बोरा चेरी पानमसला भेटिएको छ । प्रहरीले ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जानकारी दिएको छ । 

६)  पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य सुरु 

विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य सुरु भएको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो ।

मोतिहारीबाट पाइपलाइनमार्फत् डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेशगञ्ज डिपोले जनाएको छ । 

डिपोका अनुसार मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आइओसी)ले गर्नेछ । सो पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड लागत लाग्ने अनुमान रहेको डिपोले जनाएको छ ।

७) प्रचण्डद्धारा सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारी अस्थायी,  करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संघको माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताएका हुन् । अस्थायी,  करार र ज्यालादारी कर्मचारीले आफूहरुलाई स्वतः स्थायी गरिनुपर्नेलगायतका माग पूरा गराउने विषयमा आफू प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ ।

८) थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२१ पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ एन्टिजेन परीक्षण गर्दा ३७७ जना गरी थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन्। पछिल्लो २४ घण्टामा ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५०२४ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

९) राष्ट्रपति भण्डारीद्धारा ‘मिल्क बैंक’को उद्घाटन 

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरुपको जनशक्तिको तयार गर्न मुलुकको सामु विद्यमान चुनौती रहेको बताउनुभएको छ । 

शुक्रबार काठमाण्डौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट सहयोग प्राप्त हुने पनि बताउनुभएको हो । 

उहाँले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तर रुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । अस्पताललाई प्रविधिमैत्री बनाउन उपलब्ध गराएको अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन सक्रिय रहेको महसुस गरेको उहाँले बताउनुभयो । 

सोही अवसरमा राष्ट्रपति भण्डारीले बृहत् स्तनपान व्यवस्थापन केन्द्र ह्युमन मिल्क बैंक ‘अमृत कोष’को पनि उद्घाटन गर्नुभयो । 

१०) श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि दिए आवेदन 

श्रीलंकका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिनुभएको छ । देशमा आर्थिक संकट आएका बेला गत जुलाईमा भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन दिएको बताइएको छ । 

उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको श्रीलंकाको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहेको जानकारी दिनुभयो ।

गोटावायसँग निकट मानिनुहुने विरातुङ्गाले थाइल्याण्ड फर्किने उहाँको योजना रद्ध भइसकेको पनि उहाँले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर कानून व्यवसायीहरुसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेको डेलि मिरर पत्रिकाले लेखेको छ । समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख गरिएको छ ।

उहाँकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गरेको जनाइएको छ । मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उहाँको निवास घेर्न थालेपछि देश छोडेर भाग्नु परेको थियो ।