१६ बैशाख, २०८१ आइतबार

02:08:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अलैंचीको मूल्य वृद्धिले किसानलाई राहत

३ माघ, २०७८

अलैंचीको मूल्य वृद्धिले किसानलाई राहत

भोजपुर

यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएको छ । यहाँका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले बताउनुभयो ।

अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताउनुभयो । उँहाले भन्नुभयो, ‘यसवर्ष अलैँचीको मूल्य राम्रो छ । गाउँघरबाट प्रतिमन ४० हजार २०० का दरले बिक्री गरियो । तर यसवर्ष उत्पादन भने त्यती राम्रो भएन ।’

वर्षेनी भएको मूल्य गिरावट, गतवर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको उहाँको भनाइ छ । गतवर्ष जस्तो उत्पादन भएन । वर्सेनी मूल्य कमी हुँदै जाँदा विस्तारमा किसानले पनि उत्पादनमा कमी गरेका छन् । गत वर्षको सुख्खा खडेरीले पनि क्षति पु¥याएको छ  । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची किसानले विगत वर्षको तुलनामा झण्डै दोब्बर बराबरको मूल्य पाएका छन् । 

ठेकेदारले घरबाट नै प्रति केजी १ हजार रुपैयाँमा अलैँची लैजाने गरेको किसान जयकुमार राईले बताउनुभयो । ‘अलैँचीबाट सात÷आठ वर्ष अघिसम्म राम्रो आम्दानी पाएपछि हौसिएर धानखेतमा अलैँची लगाएको थिए । गत वर्षसम्म मूल्य घटिरहँदा निकै निराश भएको थिए । यस वर्षको मूल्यबाट भने केही राहत मिलेको छ’,  उँहाले भन्नुभयो। 

राईले तीन वटा बगान गरी करिब १५० रोपनी क्षेत्रफल जतिमा अलैँची लगाएको बताउनुभयो । विगतका वर्षदेखि नै  विभिन्न सरकारी कार्यालयबाट सहयोग पाउदै आएका छन  । ‘जसबाट केही न केही रुपमा खेती विस्तार गर्नै प¥यो । तर मूल्यमा गिरावट आउदा समस्या थपिँदै गएको थियो’, उँहाले भन्नुभयो, ‘यस वर्ष भने केही सहज भएको छ ।’

जिल्ला अलैँची व्यवसायी संघ भोजपुरका अध्यक्ष नवीन प्रधानले किसानको हकहितको लागि काम गरिरहेको बताउनुभयो । खेतीको विस्तार तथा किसानलाई विभिन्न समयमा आउने समस्याको विषयमा सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएको उँहाले बताउनुभयो । अध्यक्ष प्रधानले यस वर्ष मूल्य बढेपनि अलैँचीको उत्पादनमा भने कमि आएको बताउनुभयो । आफूले पनि ४० रोपनी क्षेत्रमा अलैँचीको खेती गरेको भए पनि सोचेजस्तो उत्पादन नभएको बताउनुभयो । ‘यसवर्ष अलैँचीको मूल्य राम्रो नै छ । केही भए पनि किसानलाई राहत मिलेको छ । तर उत्पादन भने यसवर्ष खास राम्रो भएन’, अध्यक्ष प्रधानले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार यसवर्ष भोजपुरमा २३२ मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लामा अहिले ७१९ हेक्टर क्षेत्र अलैंची खेती योग्य जमिन रहेको भए पनि ५९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष किसानले प्रतिमन ४० हजारदेखि ४८ हजारसम्मा अलैंची बिक्री गरेका छन् । जिल्लामा अलैँचीको विस्तारको लागि छ पकेट, दुई ब्लक र छ स्थानीय तहको ३० वटा वडामा अलैँची जोन कार्यक्रम सञ्चालन भइरहेको छ । 

जिल्लामा रामशाही, गोल शाही, डम्बर शाही , जिर्मले जातको अलँैचीखेती हुने गरेको छ । भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु ,किमालुङ वासिङथर्पु, तिम्मा  हेलौछा ,गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य रुपमा अलैँची उत्पादन हुने गर्दछ ।

रासस