१८ माघ, २०८१ शुक्रबार
09:26:30 PM
२ भदौ, २०७९
१) सेयर बजार २७.७२ अकंले बढ्यो
सेयर बजार घटबढ हुने क्रम जारी छ । बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २७.७२ अकंले बढेर नेप्से परिसूचक २ हजार ६८.४२ विन्दुमा पुगेर बन्द भएको छ ।
सेयर बजार बढेसँगै कारोबार पनि बढेको छ । आज २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रुपैयाँको कारोबार भएको छ भने ५१ लख १ हजार २९० कित्ता सेयर किनबेच भएका छन्।
आज सबै उपसमुहरुमा हरियाली छाएको छ । कम्पनीहरुमा मन्दाकनी हाइड्रोपावर र उपर शोलो हाइड्रो कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ । श्वेत गंगा हाइड्रो एण्ड कनस्ट्रक्शन ९.९७ प्रतिशत, उपर हेवाखोला हाइड्रो कम्पनी ९.९६ प्रतिशत र हिमालयन हाइड्रोपावर ८.९३ प्रतिशतले बढेका छन् ।
२) एकै दिनमा १५ अर्बले बढ्यो बैंकहरूको निक्षेप
एकै दिनमा बैंकहरूको निक्षेप संकलन १५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ३१ गते एकै दिन बैंकहरूको निक्षेप १५ अर्ब रुपैयाँले बढेको हो।
योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। साउन ३० गतेसम्म बैंकहरुको कुल निक्षेप ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर छ । गत साउन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा साउन ३१ गतेसम्म १३ अर्बले बढेर ४४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।
यो अवधिमा बैंकहरूको कर्जा प्रवाह २ अर्बले बढेर ४७ खर्ब रूपैयाँमा पुगेको छ । गत साउन ३० गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य बैंकहरूको कर्जा लगानी पनि यो अवधिमा ३ अर्बले बढेर ४१ खर्ब ७२ अर्ब रूपैयाँमा पुगेको छ । गत साउन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तिय संस्थाहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.२७ प्रतिशतबाट घटेर ८८.०७ प्रतिशतमा पुगेको छ ।
३) विश्वसनीयताको परीक्षण नगरी सहकारीलगायतका वित्तिय संथामा रकम जम्मा नगर्न बोर्डको आग्रह
विज्ञापन बोर्डले सहकारीलगायतका वित्तिय संथामा रकम जम्मा गर्नुभन्दा अगाडी संस्थाको बारेमा बुझ्न आग्रह गरेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै हचुवाको भरमा कुनै पनि संस्थामा रकम जम्मा नगर्न आग्रह गरेको हो ।
बोर्डले कुनै पनि सहकारीलगायलका वित्तिय संथामा आफुले दुख गरेर कमाएको पैसा जम्मा गर्दा विश्वसनीयता परीक्षण गरेर मात्रै जम्मा गर्न अनुरोध गरेको हो ।
बचत गर्दा ध्यान दिऔँ, सहकारीलगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुनुहुन्छ ? त्यसो हो भने, त्यस्ता संस्थाको वित्तीय विश्वसनीयताको परीक्षण गर्न नबिसौं । बढी ब्याजको लोभमा नफसौं र ब्याजको लोभमा साँवा समेत नगुमाऔँ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
४) अवैधानिक लघुवित्त संघर्ष समितिलाई कारबाही हुने
गृहमन्त्रालयले लघुवित्त विरुद्ध संघर्ष गर्नका लागि बनेका समितलाई कारवाही गर्न परिपत्र जारी गरेको छ। बिहीबार गृहमन्त्रालयले एक परिपत्र जारी गर्दै अवैधानिक संघर्ष समितिलाई कारबाही गर्नका लागि प्रहरी प्रधान कार्यालयल र सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।
मन्त्रालयले जारी गरेको परिपत्रमा देशको प्रचलित कानुन बमोजिम दर्ता भई सरोकारवाला निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका लघुवित्त संस्थाहरु विरुद्ध हाल केही व्यक्ति तथा ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समुहले सुनियोजित तवरले आन्दोलन गरी कार्यक्रममा अवरोध सृजना गर्ने, कपोकल्पीत आक्षेप लगाई अनर्गल प्रचार गर्ने, यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिई कार्य भएको भन्दै यस्तो कार्यमा संलग्नलाई कारबाही गर्नका भनिएको छ ।
नेपाल लघुवित्त बैंकर्स संघले साउन ३० गते लघुवित्त माथि लगातार धावा बोलेर मनोवल कमोजोर गराउने, सोझा साझा सदस्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पु¥याई लघुवित्त कार्यक्रमलाई नै धरासायी बनाउने कोशिष भईरहेको भन्दै गृहमन्त्रीलाई सम्बोधन गर्दै पत्र समेत लेखेको थियो ।
५) एक दिनमा लागि मेरो सेयर बन्द हुने
‘मेरो सेयरको’ वेबसाइट बन्द हुने भएको छ । बिहीबार सिडीएस एण्ड क्लियरिङ (सिडीएससी)ले एक सूचना जारी गर्दै साँझ साढे ५ बजेदेखि एक दिनका लागि सम्पूर्ण सेवा बन्द हुने जानकारी दिएको हो ।
सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नु पर्ने भएकाले सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।
सूचनामा जनाइए अनुसार सिडीएससीले संचालक गरेका मेरो सेयर, सि–आस्वा, वेब सिडीएएस, सिएनएस लगायतका सम्पूर्ण सेवाहरु एक दिनका लागि बन्द हुने भएका छन्।
६) एक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले २७ करोड भन्दाबढी बीमाशुल्क संकलन
निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८÷७९ मा कृषि तथा पशुपन्छी बीमाबाट २७ करोड भन्दाबढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार गएको एक वर्षमा कम्पनीहरुले १ लाख ७८ हजार ३९५ वटा बीमालेख बिक्री गरी २७ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
कृषि तथा बाली बीमा गर्नेहरुको संख्या बढेसँगै बीमा शुल्क संकलन पनि वृद्धि भएको समितिले जनँएको छ ।
७) स्वदेशमै उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यकः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
महिला उद्यमी महासंघ नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा सुरु छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउन आग्रह समेत गर्नुभयो ।
उहाँले स्वदेशभित्रै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने बताउनुभयो ।
व्यापार मेलामा कृषि, हस्तकला, सेवा, चाडपर्व, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ स्टल राखिएको आयोजकले जनाएको छ । मेलाको ५५ हजारले अवलोकन गर्ने र दुई करोडको कारोबार हुने अनुमान गरिएको छ ।
८) ६९ लाख रूपैयाँसहित काठमाडौंबाट ३ जना हुन्डी कारोबारी पक्राउ
हुन्डी कारोबारीको आरोपमा काठमाडौंबाट ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ६९ लाख रूपैयाँसहित घण्टाघर र कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर १० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई ७ घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिशलकुमार शाह र धनुषाको जनकपुर ३ घर भई हाल काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्का रहेका छन् ।
घण्टाघरमा श्रेष्ठले सञ्चालन गर्दै आएको सर्जोग टुर एन्ड ट्राभल्सबाट ६० लाख र कलंकीमा गोयन्काले सन्चालन गर्दै आएको आनी इन्टरनेसनलबाट ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । गोयन्काको कर्मचारी रहेका शाहले श्रेष्ठको कार्यालयमा हुन्डीको रकम लिन आएको बेला छापा मारेको प्रहरीले जनाएको छ ।
९) धितोपत्र बोर्डले १२ ब्रोकरलाई दियो शाखा विस्तारको स्वीकृति
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १२ वटा ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिएको छ। धितोपत्र बोर्डले १२ वटा वटा ब्रोकर कम्पनीलाई विभिन्न ठाउँमा २२ वटा शाखा कार्यालय खोल्न स्वीकृति दिएको हो । सोमध्ये १७ वटालाई शाखा संचालनका लागि स्वीकृति दिइएको छ भने ५ वटालाई पुर्वाधार तयार गर्न स्वीकृति दिइएको धितोपत्र बोर्डले जनाएको छ ।
१०) देश छोडेर भागेका राजापाक्षे स्वदेश फर्किदैँ
श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कने भएका छन् । राजापाक्षे अगस्ट २४ मा श्रीलंका फर्किन लागेका उहाँका भतिजा उदयांगा वीरातुंगाले जानकारी दिनुभएको छ । आर्थिक संकटपछि व्यापक सरकारविरोधी प्रदर्शनबीच राजापाक्षे देश छोडेर भाग्नुभएको थियो ।
२ करोड २० लाख जनसंख्या भएको देश श्रीलंकाले सात दशकमा सबैभन्दा खराब आर्थिक उथलपुथलको सामना गरिरहेको छ । खाद्यान्न, औषधि, इन्धन र अन्य आवश्यक सामग्रीहरू किन्न लाखौँ मानिसले संघर्ष गरिरहेका छन् । गत मार्चमा सुरु भएको विशाल प्रदर्शन राजापाक्षेको राजीनामासँगै टुंगिएको थियो।