१८ माघ, २०८१ शुक्रबार
09:24:27 PM
२ भदौ, २०७९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको विकासमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भ्रमणमा आउनु भएका उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी ।व्यवसायीबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै ढकालले नेपालको जलविद्युत, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानि गर्न आह्वान गर्नुभएको हो ।
नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको उहाँले बताउनुभयो ।
‘उहाँले भन्नुभयो, ‘हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौं । भारत, चीन, ईयू र आंशिक रूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ । यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीहरूले राम्रो नाफा कमाएका छन् ।’
उहाँले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न समेत आग्रह गर्नुभयो ।