१८ माघ, २०८१ शुक्रबार

10:46:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजार झिनो अंकले घटयोदेखि बाइडेनद्धारा जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षरसम्म

Nepal Business

१ भदौ, २०७९

प्रमुख समाचारः सेयर बजार झिनो अंकले घटयोदेखि बाइडेनद्धारा जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षरसम्म

१) सेयर बजार झिनो अंकले घट्दा कारोबार पनि घट्यो

सेयर बजार बुधबार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार ०.३६ अंकले घटेको हो । सेयर बजार ०.३६ अंकले घट्दा नेप्से परिसूचक २ हजबर ४०.७० विन्दुमा बन्द भएको छ । सेयर बजार घट्दा कारोबार पनि घटेको छ ।

आज १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको छ भने ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच भएका छन् ।

यस्तै बुधबार सात उपसूचकहरु बढेका छन् भने छ उपसूचक घटेका छन् । कम्पनीहरुमा श्वेत–गंगा हाइड्रोपावर कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ ।

मन्दाकनी हाइड्रोपावर र उपर हेवाखोला हाइड्रोपावर ९.९९ प्रतिशतले बढेका छन् भने उपर शोलो हाइड्रो कम्पनी र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ९.९८ प्रतिशतले बढेका छन् ।

२) ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक उत्पादन, आयात तथा विक्रि वितरणमा रोक

सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोगमा निषेध गरेको छ । नेपाल सरकारले १९ असोज २०७८ मा राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

मन्त्रिपरिषदले १७ माघ २०७८ मा प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो । यसलाई १ भदौबाट कडाईका साथ पालना गरिने विभागले जनाएको छ ।

बुधबार वातावरण विभागका अनुसार आजबाट यो निर्णयलाई कडाईका साथ लागू गर्ने जनाएको छ । यो निर्णय कार्यान्वयन भए नभएको बारे पनि कडा अनुगमन हुने विभागले जनाएको छ ।

३) एक वर्षमा नेपालबाट ४१.७ प्रतिशतको निर्यात 

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। उक्त तथ्यांक अनुसार गएको एक वर्षमा ४१.७ प्रतिशतले कुल वस्तु निर्यात बढेको छ ।

उक्त तथ्यांक अनुसार गएको एक वर्षमा कसल वस्तु निर्यात २०० अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो ।

यस्तै गएको एक वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई १९२० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार एक वर्षमा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई १७२० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो ।

४) चालु आर्थिक वर्षको एक महिनामा २४ उद्योग दर्ता 

चालु आर्थिक वर्षको साउन महिनामा ३८ अर्ब ११ करोड ३ लाख रुपैयाँ लगानीमा २४ वटा उद्योग दर्ता भएका छन् ।उद्योग विभागका अनुसार यस एक महिनामा साना ठूला र मझौला गरी २४ वटा उद्योग दर्ता भएका हुन्।

दर्ता भएका उद्योगमा साना उद्योग १० वटा मझौला उद्योग ५ वटा र ठूला उद्योग ९ वटा रहेका छन् । जसमा होटलदेखि हाइड्रोपावरसम्म रहेका छन्। सबैभन्दा धेरै उद्योग काठमाण्डौंमा छन् ।

५) एक महिनामा उठेन लक्ष्य अनुसारको राजस्व

चालु आर्थिक वर्षको एक महिना पुरा भएको छ । साउन महिनामा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन । भन्सार विभाग र आन्तरिक राजस्व विभागले ७२ अर्ब १९ करोड रुपैयाँ मात्र संकलन गरेको छ । सरकारले यस एक महिनामा ८३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जुन लक्ष्यको ८६.७७ प्रतिशत मात्रै हो ।

आन्तरिक राजस्व विभागले साउनमा लक्ष्यको ९१ प्रतिशत राजस्व संकलन गर्दा भन्सार विभागले भने लक्ष्यको ८१.०९ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । भन्सार विभागले यस वर्ष साउनमा अघिल्लो वर्षको साउन महिनाको तुलनामा ७ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । २०७८ साउनमा विभागले ३९ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यो वर्ष साउनमा विभागले ३९ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब १९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । विभागले साउनमा २१ अर्ब ३० करोड भन्सार महसुल संकलन गर्ने लक्ष्य लिएकोमा साउन ३१ गतेसम्म १४ अर्ब ४६ करोड रुपैयाँ मात्रै संकलन गरेको छ ।

भन्सार विभागले लक्ष्यअनुसार राजस्व संकलन नगर्दा आन्तरिक राजस्व विभागले भने लक्ष्य नजिक राजस्व संकलन गरेको छ । साउनमा विभागले ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउन मसान्त सम्म ४० अर्ब रुपैयाँ संकलन गरेको छ ।

६) राष्ट्र बैंकको कडाइका कारण सुस्तायो घरजग्गा कारोबार

साउन महिनामा घरजग्गाको कारोबार सुस्ताएको छ । नेपाल राष्ट्र बैंकले घरजग्गा धितो कर्जामा कडाइ गरेसँगै साउन महिनामा घरजग्गा कारोबार सुस्ताएको हो ।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ८ हजार ७ सय८५ मात्र कित्ताकाट भएका छन् । गत आर्थिक बर्षको साउन महिनामा ७३ हजार १ सय ५९ वटा जग्गा कित्ताकाट भएको तथ्यांकले उल्लेख छ ।

यस्तै, साउन महिनामा कुल ३३ हजार ८ सय ३४ घरजग्गा किनबेच भएको छ । साउन महिनामा सरकारले घरजग्गा किनबेचबाट २ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको साउनमा सरकारले घरजग्गा किनबेचबाट ८ अर्ब १० करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । राष्ट्र बैंकले घरजग्गा धितो कर्जामा कडाइ गर्दा सरकारले संकलन गर्ने राजश्वमा पनि कमि आएको हो ।

सरकारले कृषि, आवासीय, वनलगायत विभिन्न क्षेत्रको जग्गाको वर्गीकरण नगरी कारोबार गर्न नपाउने व्यवस्था गरेको छ भने नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा कुल मूल्याकंनको ३० प्रतिशत र काठमाडौं बाहिर कुल मुल्यांकनको ४० प्रतिशत मात्रै कर्जा  पाइने व्यवस्था गरेको छ ।

७) सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक

सिंहदरबारभित्र आज (भदौ १ गते बुधबार) बाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आज (बुधबार) बाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

आर्थिक वर्ष २०७९।८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो । सिंहदरबारभित्र रहेका मन्त्रालयहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । तर, अब ती क्यान्टिनहरुले ग्यास प्रयोग गर्न नपाउने भएका छन् ।

८) आगामी दिनमा विद्युत प्राधिकरणको नाफाको ग्राफ बढ्दै जान्छः घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताउनुभएको छ । बुधबार प्राधिकरणको ३७ औं वार्षिकत्सवमा उहाँले गत आर्थिक वर्षमा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको र आगामी दिन यो ग्राफ अझ बढ्ने बताउनुभएको हो । 

उहाँका अनुसार यो नाफा हालसम्मकै उच्च रहेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।

कार्यक्रममा उहाँले विद्युत उपभोग बढाउन  विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घोषाणा पनि गर्नुभयो । 

९) एक महिनामा जलविद्युत आयोजनामा २७ अर्ब रुपैयाँ भन्दाबढी लगानी प्रस्ताव

चालु आर्थिक वर्षमा जलविद्युत आयोजनामा मात्रै २७ अर्ब रुपैयाँ भन्दाबढी लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार साउनमा विभिन्न जिल्लामा २७ अर्ब १८ करोड ७० लाख २४ हजार रुपैयाँ लगानी प्रस्ताव आएको हो । यस अवधिमा झापामा १३ करोड रुपैयाँ लगानीमा एनएसएस पावर प्रालि दर्ता भएको छ । 

यस्तै भोजपरमा ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ लगानीमा सुम्रिमा हाइड्रोपावर कम्पनी (पिखुवा पशुपती जलविद्युत आयोजना) र एक अर्ब ३२ करोड ८ लाख रुपैयाँ लगानीमा एस के इनर्जी डेभलपमेन्ट प्रालि र मनाङमा ५ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ लगानीमा कार्बोनलेस इनर्जी फण्ड प्रालि साउन महिनामै दर्ता भएको तथ्याङकमा उल्लेख छ । 

दर्ता भएका अन्य उद्योगहरुमा दोलखामा १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानीमा तामाकोशी जलविद्युत कम्पनी लिमिटेड (तामाकोशी पाचौं जलविद्युत आयोजना), सोलुखुम्बुमा २ अर्ब ५३ करोड २६ लाख १९ हजार रुपैयाँ लगानीमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (बुदुम खोला जलविद्युत आयोजना) रहेको विभागले जनाएको छ । 

१०)  अमेरिकी राष्ट्रपति बाइडेनद्धारा जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुनको स्वरुप लिएको छ ।  मुद्रास्फीति न्यूनीकरण ऐन भनिने यो कानूनलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा ठूलो प्रतिबद्धताको रूपमा लिएको थियो ।