१८ माघ, २०८१ शुक्रबार
10:38:31 PM
१ भदौ, २०७९
काठमाडौं । चालु आर्थिक वर्षको एक महिना पुरा भएको छ । साउन महिनामा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन ।
भन्सार विभाग र आन्तरिक राजस्व विभागले ७२ अर्ब १९ करोड रुपैयाँ मात्र संकलन गरेको छ । सरकारले यस एक महिनामा ८३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जुन लक्ष्यको ८६.७७ प्रतिशत मात्रै हो ।
आन्तरिक राजस्व विभागले साउनमा लक्ष्यको ९१ प्रतिशत राजस्व संकलन गर्दा भन्सार विभागले भने लक्ष्यको ८१.०९ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।
भन्सार विभागले यस वर्ष साउनमा अघिल्लो वर्षको साउन महिनाको तुलनामा ७ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । २०७८ साउनमा विभागले ३९ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यो वर्ष साउनमा विभागले ३९ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब १९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । विभागले साउनमा २१ अर्ब ३० करोड भन्सार महसुल संकलन गर्ने लक्ष्य लिएकोमा साउन ३१ गतेसम्म १४ अर्ब ४६ करोड रुपैयाँ मात्रै संकलन गरेको छ ।
भन्सार विभागले लक्ष्यअनुसार राजस्व संकलन नगर्दा आन्तरिक राजस्व विभागले भने लक्ष्य नजिक राजस्व संकलन गरेको छ । साउनमा विभागले ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउन मसान्त सम्म ४० अर्ब रुपैयाँ संकलन गरेको छ ।