१९ माघ, २०८१ शनिबार

12:47:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा हरियालीदेखि ऊर्जा प्रणालीको विकासमा बिल गेट्स र वारेन बफेटसँगैसम्म

Nepal Business

३० साउन, २०७९

प्रमुख समाचारः सेयर बजारमा हरियालीदेखि ऊर्जा प्रणालीको विकासमा बिल गेट्स र वारेन बफेटसँगैसम्म

१) सेयर बजार ५५.८८ अंकले बढ्यो

लगातार घटिरहेको सेयर बजार सोमबार बढेको छ । गत सातादेखि घट्दै आएको सेयर बजारमा आज हरियाली छाएको हो । नेपाल स्टक एम्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार ५५.८८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६५.८९ विन्दुमा बन्द भएको छ ।

आज सेयर कारोबार पनि बढेको छ । आज २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ५१२ कारोबार भएको छ भने ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसमुहहरुमा हरियाली छाएको छ । कम्पनीतर्फ श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिप्रपोज फाइनान्स कम्पनी र राधी विद्युत कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ । रिर्भर फल्स ९.९९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी ९.९६ प्रतिशतले बढेका छन् । 

२) भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने एनबीएको निर्णय

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले भदौमा पनि वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ। आज (सोमबार) बसेको वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले भदौ महिनाका लागि पनि ब्याजदर नबढाउने निर्णय गरेको हो ।

बैंकहरुले ब्याजदर नबढाएपछि संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने घट्ने भएको छ। राष्ट्र बैंकले बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेको छ। यसले गर्दा अब संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ९.०३ प्रतिशतमा झर्ने भएको छ। भदौ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९.०३ प्रतिशतसम्म ब्याज दिनेछन् । यस्तै रेमिट्यान्समा १२.०३ प्रतिशत ब्याजदर रहेको छ।

३) ब्रोकर नम्बर १३ धितोपत्र बोर्डको कारबाहीमा

नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ लाई कारवाही गरेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लिलाई कारबाही गरेको छ ।
उक्त ब्रोकर कम्पनीले धितोपत्र बोर्डबाट अनुमति नलिई शाखा खोलेकोले बोर्डले कारवाही गरेको हो । 

बोर्डले उक्त ब्रोकर कम्पनीलाई ५० हजार नगद जरिवाना गरेको छ । बोर्डका अनुसार ब्रोकर कम्पनीले तनहुँमा बिना अनुमति शाखा संचालनमा ल्याएको थियो।  

धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम रु.५०,०००।– (पचास हजार रुपैयाँ मात्र) जरिवाना गरिएको बोर्डले जनाएको छ ।

धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि.ले नियमावलीको उक्त व्यवस्था अनुरुप शाखा कार्यालय खोल्न बोर्डबाट स्वीकृति नलिई तनहुँ जिल्ला स्थित व्यास नगरपालिका वडा नं. २, दमौलीमा शाखा कार्यालय स्थापना गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको बोर्डले जनाएको छ ।

४) १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले साउन ३१ गते मंगलबार १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंगलबार २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो।

यो ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ २८ गते परिपक्व हुनेछ।

यस्तै ९१ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो कात्तिक २९ गते परिपक्व हुनेछ। यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन आगामी फागुन २ परिपक्व हुनेछ। यी ट्रेजरी बिलको आज (सोमबार) दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

५) बाणिज्य बैंकहरुको निक्षेप २५ अर्बले घट्यो 

बैंकिंङ प्रणालीमा साउनको चौथो साता निक्षेप घटेको छ । बैंकसै संघका अनुसार एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २५ अर्बले घटेको छ ।

साउन २० गते बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रहेकोमा साउन २७ गतेसम्ममा बैंकहरुको निक्षेप २५ अर्बले घटेर ४४ खर्ब २१ अर्ब पुगेको संघले जनाएको छ । यस अवधिमा कर्जा प्रवाह भने ९ अर्बले बढेको छ । 

संघका अनुसार साउन २० गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ६६ अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह ९ अर्बले बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ । यस अवधिमा बैंकहरुको सिडी रेसियो ८८.३५ प्रतिशत रहेको संघले जनाएको छ ।

साउन महिना सुरु भएपछिको ४ साताको अवधिमा बैंकको निक्षेप १ खर्ब २० अर्बले घटेको छ । असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन २७ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर ४४ खर्ब २१ अर्ब पुगेको संघले जनाएको छ । 

६) विदेशी विनिमय अपचलन गरेको आरोपमा तीन जना विदेशी नागरिक विरुद्ध मुद्दा दायर

विदेशी विनिमय अपचलन गरेको आरोपमा तीन जना विदेशी नागरिक विरुद्ध मुद्दा दायर गरिएको छ । सोमबार राजस्व अनुसन्धान विभागले काठमाण्डौं जिल्ला अदालतमा दुई पाकिस्तानी नागरिक र एक भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको हो । 

मुद्धा परेकाहरुमा पाकिस्तानी नागरिक हाफिज अत्तिक्यु अर रेहमान, पाकिस्तान घर भई हाल सशस्त्र प्रहरी गुल्म जगन्नाथ देवलमा संगठित अपराध मुद्दामा थुनामा रहेका ५९ वर्षिय जाबेद अस्लाम खान र भारतको बनारस घर भई भिमफेदी कारागारमा संगठित अपराध मुद्दामा  थुनामा रहेका चाँदबाबु मोहम्मद सरिफ रहेका छन् । 

उनीहरु तीनै जनाले विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ । 

विभिन्न देशका मुद्रा लुकाइ छिपाई नेपालबाट बाहिरी मुलुकतर्फ लैजाने लागेको अवस्थामा रेहमान पक्राउ परेका थिए । उनी विरुद्ध ९ लाख १६ हजार ४९१ रुपैयाँ मागदावी सहित मद्दा दायर गरिएको विभागले जनाएको छ । 

यस्तै विभागका अनुसार चाँदबाबुको साथबाट अवैध भारतीय नोट बरामद भएको थियो । उनी विरुद्ध एक लाख १२ हजार १०५ रुपैयाँ विगो माग गरिएको विभागले जनाएको छ । 
यस्तै जाबेदको साथबाट अवैध अमेरिकी डलर बरामद भएको थियो । उनी विरुद्ध ५० लाख १६ हजार ६८७ रुपैयँ विगो कायम गरिएको छ । 

७) क्रिप्टो, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङमा लगानी नगर्न राष्ट्र बैंकको आग्रह 

नेपाल राष्ट्र बैंकले क्रिप्टो, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङमा लगानी नगर्न सार्वजनिक सूचना जारी गरेको छ । सोमबार राष्ट्र बैंकले यस्ता उपकरणहरु जोखिमा रहेको तथा पैसा डुब्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

यसअघि तीन पटकसम्म राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै भर्चुअल करेन्सीमा लगानी नगर्न अनुरोध गरेको थियो । यस्ता उपकरणमा लगानी गर्ने कम्पनी तथा फर्मलाई विदेशी विनिमय गर्ने ऐन २०१९ को दफा १९ अनुसार कारवाहीमा परिने सूचनामा उल्लेख छ । 

८) बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्न विस्तृत कार्यदल गठन

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्न विस्तृत कार्यदल गठन गरेको छ । नेपाल उद्योग वाणिज्य महांसघले आयोजना गरेको स्वास्थ्य बीमा र यसको प्रभावकारीता विष्याक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्न सरकारले विस्तृत कार्यदल गठन गरेको बताउनुभएको हो । 

उहाँले कार्यदलको प्रतिवेदनअनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाएर लगिने बताउनुभयो । उहाँका अनुसार सरकारले सञ्चालनमा ल्याएको कार्यक्रम भएर भुक्तानीमा समस्या हुँदैन ।

स्वास्थ्य बीमा ऐनअनुरूप स्वास्थ्य बीमा बोर्डले स्वतन्त्र भएर काम गर्न सक्ने व्यवस्था गरेको हुनाले सोही बमोजिम काम गर्न उनले उनले निर्देशन दिनुभयो ।

९) गत आर्थिक धनगढीले लक्ष्य अनुसारको राजस्व संकन गर्न सकेन 

आर्थिक वर्ष २०७८÷८९ मा धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिए पनि तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार रुपैयाँ मात्रै सैकलन गरेको हो । 

कार्यालयका अनुसार सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो । 

१०) ऊर्जा प्रणालीको विकासमा बिल गेट्स र वारेन बफेटसँगै

संसारका अर्बपतिहरुले नयाँ खालको ऊर्जा प्रणालीको विकास गर्न खोजेका छन् । गत वर्षदेखि चर्चामा रहेको सो प्रणालीमा बिल गेट्स र वारेन बफेट जोडिएका छन् । उहाँले सो काम छुट्टाछुट्टै पनि गर्न सक्ने सम्भावना छ । त्यसका लागि उनीहरु गम्भीर मन्थनका साथ लगानीको मोडालिटी तयारीमा जुटेका छन् ।

उहाँहरुले अगाडि सारेको सो ऊर्जा प्रणालीलाई नेट्रियम आणविक प्लान्टको नाम दिइएको छ । विश्वव्यापी रुपमा लगातार इन्धनको मूल्यवृद्धि भएपछि समस्यामा परेको विश्व बजारलाई उनीहरुको नयाँ योजनाले खासमा राहत दिन सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिल गेट्स र वारेन बफेटको ऊर्जा क्षेत्रका कम्पनीहरूले यो नयाँ आणविक प्लान्टमा सँगै काम गरिरहेको छन् ।