१९ माघ, २०८१ शनिबार

12:45:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजार राताम्मेदेखि सेयर बजारका बिग बुल राकेश झुनझुनवालाको निधनसम्म

Nepal Business

२९ साउन, २०७९

प्रमुख समाचारः सेयर बजार राताम्मेदेखि सेयर बजारका बिग बुल राकेश झुनझुनवालाको निधनसम्म

१) सेयर बजार राताम्मे

सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । सेयर कारोबारको पहिलो दिन आइतबार नै सेयर बजार राताम्मे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २७.९२ अंकले घटेर नेप्से परिसूचक २ हजार १०.०१ विन्दुमा बन्द भएको छ ।

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँको कारोबार भएको छ भने ४५ लाख ५९ हजार ३३ कित्ता सेयर किबेच भएका छन् ।

आज सबै उपसमुह राताम्मे छन् भने कम्पनीहरुमा उप्पर हेवाखोला हाइड्रोपावर कम्पनी ८.१० प्रतिशत, कालिका पावर कम्पनी २.८८ प्रतिशत र समलिङ पावर कम्पनी २.४४ प्रतिशतले बढेका छन् ।

२) विश्व बैंकबाट १२ अर्ब ऋण र जापानबाट २ अर्ब अनुदान सहायता लिने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट प्राप्त हुने १७ अर्ब ७० करोड बराबरको ऋण सहायता स्वीकृत गरेको छ। गत साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज (आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट प्राप्त उक्त ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता दिन लागेको हो ।

यस्तै, जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

३) मोहन्यालका अधिकृत क्षेत्रीविरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा १ साउनमा पक्राउ गरिएको अख्तियारले जनाएको छ । अनुसन्धानको सिलसिलामा उनले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस रिसवत माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार साथबाट बरामद भएको पुष्टि भएकाले ४४ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

४) अर्थमन्त्रालय माफियाको कब्जामा छः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्रालय माफियाको कब्जामा रहेको बताउनुभएको छ । आइतबार उहाँले प्रतिनिधि सभाको बैठकमा ‘बैंक वित्तीय संस्थाबाट प्रवाह भएको चालिस खर्ब ऋण मध्ये ३० खर्ब रुपैयाँ सय जना व्यापारीले चलाएको  बताउनुभएको हो । 

यसो हुँदा देशको अर्थतन्त्र माफियाको कब्जामा रहेको उहाँले बताउनुभयो । उहाँले राष्ट्र बैंकले सात खर्ब रुपैयाँ बजारमा प्रवाह गरेको ऋण पाँच खर्ब रुपैयाँ मात्रै बैंकिङ च्यानलमा रहेको बताउनुभयो । बाँकी दुई खर्ब रुपैयाँ हराएको उनको आरोप छ।

यी विषयमा अर्थमन्त्रीले कुनै पनि कुरा चासोका साथ नहेरेको पनि उहाँले आरोप लगाउनु्भयो । 

५) बीमा विधेयक २०७९ प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित पारिएको हो। अब उक्त विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि मात्रै राष्ट्रपति समक्ष स्वीकृतिको लागि पुग्नेछ।

६) कर्मचारीको नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । गत साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज (आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सबै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत भएको जानकारी दिनुभएको हो । 

यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९।८० को नयाँ तलवमान र ग्रेड लागू हुने गरी सरकारले स्वीकृत गरेको  प्रवक्ता कार्कीले बताउनुभयो ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत भएको कार्कीले बताउनुभयो।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत साउन १ गतेदेखि लागू हुने गरी सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । 

तर मर्यादाक्रम अनुसार तलब मिलान गर्न भन्दै अर्थ मन्त्रालयले अधिकृतस्तरका कर्मचारीहरुको तलब २४.२६ प्रतिशत, उपसचिवहरुको २३.३५ र २३.६३ र सचिवहरुको तलब १८.२१ प्रतिशतले वृद्धि गरेर नयाँ तलवमान मन्त्रिपरिषदमा पठाएको सार्वजनिक भएको थियो ।

नायब सुब्बा र त्योभन्दा तलका कर्मचारीहरुको तलबमा भने १५ प्रतिशत वृद्धि नै लागू गरेर तलवमान प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको भन्ने सार्वजनिक भएको थियो ।

बजेटमा तोकिएभन्दा असमान ढंगले तलबवृद्धि गरिएको भन्दै नासु स्तरका कर्मचारीहरु भने आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आज (आइतबार) पनि आन्दोलन जारी राखेका छन्।

७) मंसिर ४ गते हुने निर्वाचनमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुन गइरहेको छ । सो निर्वाचनका लागि निर्वाचन आयोगले १० अर्ब खर्च हुने अनुमान गरेको छ । आइतबार निर्वाचन आयोगले सम्पादकहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने जानकारी दिनुभएको हो । 

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ। सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ । 

८) एक वर्षमा कुल बीमालेख संख्या ४४ लाख ८६ हजार ७८२ ले बढ्यो 

गत आर्थिक वर्ष २०७८/७९ मा कुल बीमालेख संख्या ४४ लाख ८६ हजार ७८२ ले बढेको छ । बीमा समितिको तथ्याङक अनुसार अघिल्लो वर्षको असार मसान्तदेखि गत वर्षको असार मसान्तसम्म बीमालेख संख्या ५२.०९ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्षको असार मसान्तसम्म कुल बीमालेख संख्या ८६ लाख १२ हजार ८५० रहेकोमा गत आवको सोहि अवधिमा ५२.०९ प्रतिशतले बढेर १ करोड ३० लाख ९९ हजार ६३२ पुगेको छ ।  

यस्तै कुल निर्जीवन बीमालेख पनि बढेको छ । एक वर्षको अवधिमा बीमालेख २.०६ प्रतिशतले बढेर २७ लाख ८८ हजार १८ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २७ लाख ३१ हजार ७७३ बीमालेख रहेको थियो ।

९) माग बमोजिम तीन तहको कर्मचारीलाई मार्ग निर्देशन गर्ने ऐन जारी नभएमा आन्दोलन गर्ने निजामती संगठनको चेतावनी 

नेपाल निजामती कर्मचारी संगठनले आफूहरुको माग बमोजिम तीन तहको कर्मचारीलाई मार्ग निर्देशन गर्ने ऐन जारी नभएमा आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार काठमाण्डौंमा केन्द्रीय कार्य समितिको दोस्रो बैठकको निर्णय सार्वजनिक गर्दै संगठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरुको माग बमोजिम तीन तहको कर्मचारीलाई मार्ग निर्देशन गर्ने ऐन जारी नभएमा संगठनको नेतृत्वमा चरणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिनुभएको हो ।

उहाँले आवश्यक परे आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान गरिने जानकारी दिनुभयो ।

प्रस्तावित संघीय निजामती सेवा ऐन स्थानीय, प्रदेस र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीहरुलाई मार्ग निर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारले ढिलासुस्ती गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।

अध्यक्ष कोइरालाले नेपाल निजामती कर्मचारी संगठन केन्दिय समितिको बैठकले दुरगामी महत्व राख्ने निर्णयहरु गरेको बताउनुभयो ।

उहाँले दोस्रो बैठकमा लेखा परिक्षण, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष तथा सदस्यहरुलाई २ दिने प्रशिक्षण दिएको बताउनुभयो ।

साउन २६,२७ र २८ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको बैठकले महासचिव जीवन काफ्लेद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत ‘आर्थिक प्रतिवेदन’ सुझाव सहित सर्वसम्मत पारित गरेको संगठनले जनाएको छ । 

१०) रहेनन् सेयर बजारका बिग बुल राकेश झुनझुनवाला

भारतीय सेयर बजारमा ‘बिग बुल’ नामले परिचित राकेश झुनझुनवालाको निधन भएको छ। राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको हो । झुनझुनवाला गत साता मात्रै ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

झुनझुनवालाको आइतबार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । झुनझुनवालासँग ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको अनुमान गरिएको छ।

झुनझुनवाला सन् १९८५ मा ५ हजार रुपैयाँ लगानी गरेर सेयर बजारमा प्रवेश गर्नुभएको थियो । उहाँले सन् १९८६ मा पहिलो सेयर बजारबाट पहिलो पटक नाफा कमाउनुभएको थियो ।

उहाँले ५ हजार रुपैयाँको सेयर लगानी गरेर टाटा टिको सेयर प्रतिकित्ता ४३ रुपैयाँमा खरिद गरेर ३ महिनापछि १४३ भारतीय रुपैयाँमा बिक्री गर्नुभएको थियो । उहाँको पछिल्लो ९ वर्षमा नेटवर्थ ४ गुणाले बढेको थियो । उहाँको आकस्मिक निधनको खबरले भारतीय सेयर बजार स्तब्ध भएको छ ।