१९ माघ, २०८१ शनिबार
12:53:58 AM
२९ साउन, २०७९
काठमाडौं । सरकारले सबै राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ। गत साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज (आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सबै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत भएको जानकारी दिनुभएको हो । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९।८० को नयाँ तलवमान र ग्रेड लागू हुने गरी सरकारले स्वीकृत गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।
सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत भएको कार्कीले बताउनुभयो।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत साउन १ गतेदेखि लागू हुने गरी सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । तर मर्यादाक्रम अनुसार तलब मिलान गर्न भन्दै अर्थ मन्त्रालयले अधिकृतस्तरका कर्मचारीहरुको तलब २४.२६ प्रतिशत, उपसचिवहरुको २३.३५ र २३.६३ र सचिवहरुको तलब १८.२१ प्रतिशतले वृद्धि गरेर नयाँ तलवमान मन्त्रिपरिषदमा पठाएको सार्वजनिक भएको थियो ।
नायब सुब्बा र त्योभन्दा तलका कर्मचारीहरुको तलबमा भने १५ प्रतिशत वृद्धि नै लागू गरेर तलवमान प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको भन्ने सार्वजनिक भएको थियो ।
बजेटमा तोकिएभन्दा असमान ढंगले तलबवृद्धि गरिएको भन्दै नासु स्तरका कर्मचारीहरु भने आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आज (आइतबार) पनि आन्दोलन जारी राखेका छन्।