२९ चैत, २०८१ शुक्रबार
01:26:56 AM
२९ साउन, २०७९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र बिकासका कुनै काम गर्न नसकेको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौंमा आायोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको सरकारले बिकासका धेरै कार्यक्रम ल्याएपनि वर्तमान सरकारले निरन्तरता दिन नसकेको आरोप लगाउनुभएको हो ।
उहाँले यसअघिको एमाले सरकारले बिभिन्न राजमार्ग, देशैभर ३ सय ९६ अस्पताल लगाएका बिभिन्न आयोजनाको शिलान्याश गरेपनि वर्तमान सरकारले पैसा अभाव भएको भन्दै उक्त आयोजनालाई निरन्तरता दिन नचाहेको बताउनुभयो ।
आफु प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरा, कालापानी फिर्ताका लागि पत्राचार नै गरेपनि अहिलेको सरकारले आफ्नो भुभागलाई समस्याका रुपमा चित्रण गरेको उहाँको भनाई छ । ओलीले मुलुकको बिकासका लागि स्वच्छ सरकार बन्नुपर्ने र त्यागी नेता हुनुपर्ने जिकिर गर्नुभयो ।
आफ्नो पार्टीले सदैव युवाहरुलाई अवसर दिएको भन्दै ओलीले युवाहरुले नै देशलाई बनाउनुपर्ने अवस्था आएको धारणा राख्नुभयो । उहाँले आफु सदैव देशका लागि समर्पित भएको र बाचुञ्जेल देशको सेवा गर्ने बताउनुभयो ।
त्यस्तै अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसा समेत नभएको बताउनुभयो । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै, उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने उहाले बताउनुभयो ।